सरकारले पशुपतिनाथको मूल मन्दिरको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा
काठमाडौं, ५ असार । सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत सरकारले लालपूर्जा नदिएको बताएका छन् ।
बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिका सदस्यहरुलाई उनले पशुपतिनाथको मूल मन्दिरको जग्गाको लालपूर्जा समेत सरकारले नदिएको बताएका छन् । लालपूर्जाका लागि नापी विभागमा निवेदन दिए पनि त्यहाँबाट उपलब्ध नभएकोमा आफूलाई दुःख लागेको उनले बताएका छन् ।
सदस्य सचिव ढकालले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दाबी गरे । लालपूर्जा नभए पनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाइ छ ।
कोषले प्राविधिक जनशक्तिको अभावमा पशुपति क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति नलिएको पनि जनाएको छ ।