सरकारले प्रेस स्वतन्त्रतामाथि ‘कू’ गर्न खोज्यो, विधेयक पारित हुन दिन्नौ : देउवा
काठमाडौं, २९ बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारले दर्ता गराएको ‘मिडिया काउन्सिलसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि कडा आलोचना गरेका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा पार्टी महामन्त्री, सहमहामन्त्रीहरु, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकहरुलाई साथमा राखी गरेको पत्रकार सम्मेलनमा देउवाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक हु–बहु पारित भए त्यो प्रेस स्वतन्त्रताका लागि ‘कू’ हुने बताएका हुन् ।
पत्रकार सम्मेलनको क्रममा देउवाले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भएपनि संविधान विपरीत सरकारले प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउने कोशिस गरेकोप्रति आपत्ति समेत जनाएका छन् ।
उनले यस विषयमा सदनमा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् । लोकतन्त्रको आधारस्तम्भ मानिने प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउँदा लोकतन्त्र नै संकटमा पर्ने भन्दै उनले सो विधेयक फिर्ता लिन समेत सरकारसँग आग्रह गरेका छन् ।
सम्मेलनमा बोल्दै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले गैरसंवैधानिक रुपमा ल्याइएको यो विधेयक संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध रहेको भन्दै यो विधेयक संसदबाट पारित हुनै नसक्ने बताए ।