सर्वोच्चको कार्यक्रममै बार अध्यक्ष श्रेष्ठ र न्याय परिषद सदस्य सिटौलाको झण्डै ‘हात हालाहाल’
काठमाडौं, २६ बैसाख । कानून दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र न्याय परिषद सदस्य रामप्रसाद सिटौलाबीच झण्डै हात हालाहाल भएको छ ।
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतमा बिहीबार आयोजित समारोह सकिएपछि जलपानका क्रममा श्रेष्ठ र सिटौलाबीच झण्डै हात हालाहालको अवस्था आएको हो । उनीहरुबीच तँ तँ र म म को अवस्था आएपछि कानून व्यवसायीहरुले छुट्याएको जलपानमा सहभागी एक कानून व्यवसायीले जानकारी दिए ।
बारका पूर्व अध्यक्ष शेरबहादुर केसीसँग सर्वोच्च अदालत परिसरमा एक टेलिभिजनसँग अन्तरवार्ता दिएर हिंड्ने क्रममा बार अध्यक्ष श्रेष्ठको न्यायपरिषद सदस्य सिटौलाको जम्काभेट भएको थियो । त्यसलगत्तै दुवै जना एक आपस विवादमा उत्रिएको स्रोतले जानकारी दिएको छ ।
‘तपाईले बारको मर्यादा बुझ्नु भएन’ श्रेष्ठले भने, ‘न्याय परिषदमा बसेर जथाभावी गर्ने ?’ त्यसपछि सिटौलाले ‘के गर्न सक्ने हो ? गरे हुन्छ’ भन्ने जवाफ दिएका थिए । त्यसपछि दुवै ‘तँ तँ, म म’ को तहमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको जनाइएको छ ।
बाझाबाझका क्रममा श्रेष्ठले बारको मर्यादा भूलेको भन्दै गालीगलौज गरेका थिए भने सिटौलाले ’तैँले के गर्न सक्छस्, गर’ भनेर जवाफ फर्काएको स्रोत बताउँछ । छुट्याएपछि बाहिरिने क्रममा समेत दुवैबीच भेट भएपछि फेरि सवाल जवाफ भएको जनाइएको छ । बाझाबाझ गर्न थालेपछि कानून व्यवसायीका साथै केही न्यायाधीशले छुट्याएका थिए ।
त्यसपछि न्यायपरिषद सदस्य सिटौला आफ्नो गाडी चढेर सर्वोच्च अदालतबाट बाहिरिएका थिए । गाडीभित्र चढेपछि समेत उनले श्रेष्ठलाई औला ठड्याउँदै गाली गरेका थिए । सिटौला हिँडेपछि समेत बार अध्यक्ष श्रेष्ठले न्यायपरिषदमा गएर बारको मर्यादा भूलेको भन्दै गाली गरेको जनाइएको छ ।
सिटौला नेपाली कांग्रेस निकटका कानून व्यवसायी हुन् भने प्रगतिशिल खेमाको नेतृत्व गर्दै बार अध्यक्ष बनेका नव निर्वाचित श्रेष्ठ पूरानो माओवादी निकटका कानून व्यवसायी हुन् । हालै पाँच जना न्यायाधीश नियुक्तिका क्रममा बारले न्यायपरिषदका पदाधिकारीहरुको चर्का आलोचना गरेको थियो । न्यायपरिषदले न्यायाधीश नियुक्तिको सिफारिस गर्छ, जसका एक सदस्य सिटौला समेत हुन् ।