अब नेपालमै मोबाइल निर्माण हुने
काठमाडौं, १५ बैसाख । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरेको छ ।
सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ ।
‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’, प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो ।’
रिफर्बिस्ड अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो । त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययन गर्न दिएको निर्देशक श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार मोबाइल आयातलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो । मोबाइल वर्षेनी करिब ५० आयात भइरहेको छ । पछिल्लो तीन वर्ष (०७३, ०७४, ०७५) मा क्रमसः ५० लाख, ४८ लाख र ४५ लाखको हाराहारीमा मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक छ । अन्नपूर्ण पोष्टबाट