गोर्खाहरुले सुरक्षा दिइरहेको ब्रुनाईमा नयाँ कानुन : समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने


००:२९ बजे

काठमाडौं, २० चैत : ब्रिटिस गोर्खा सैनिकहरुले सुरक्षा दिदै आएको दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले मध्ययुगिन शैलीको नयाँ कठोर कानुन लागु गरेको छ । समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने, चोरीको हातखुट्टा काटिने लगायतका व्यबस्था भएको कठोर कानुन लागु गरेको हो ।


७२ वर्षीय सुल्तान हसनल बोल्किय

ब्रुनाईका प्रधानमन्त्री पनि रहेका सुल्तानले यो कानुन कडाईका साथ लागु गर्ने समेत बताएका छन् । तेल र ग्याँस निर्यातका कारण धनी बनेको ब्रुनाईमा ७२ वर्षीय सुल्तान हसनल बोल्कियले शासन गर्छन् ।

ब्रुनाईको सुरक्षा भने ब्रिटिस गोर्खा सैनिकहरुले दिदै आएका छन् । आज पनि ब्रिटिस गोर्खाहरुको क्याम्प ब्रुनाईमा रहेको छ भने अवकाशपछि पनि गोर्खाहरु सुरक्षाका लागि जाने गर्छन् ।

यो इस्लामिक कानुन अनुसार अब कुनैपनि व्यक्तिलाई समलिङ्गी व्यवहार गरेको चारजनाले देखेका वा आफैंले स्वीकार गरे ढुङ्गाले हिर्काएर मारिनेछ । ब्रुनाईमा समलिङ्गी सम्बन्ध पहिलेपनि गैरकानुनी थियो र १० वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । चोरी गरेको प्रमाणित भएमा हातखुट्टा काटिनेछ ।

बलत्कार व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्डको व्यवस्था नयाँ कानुनमा छ । गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरीका लागि हातखुट्टा काट्ने व्यवस्था छ । १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई इस्लामभन्दा अरू धर्मका बारेमा सिकाउनु पनि गैरकानुनी बनाइएको छ ।

बिरोध
यो कानुन लागु भएपछि यसको बिरोध भएको छ । मध्ययुगिन शैलीको कानुन बनाइएको भन्दै बिरोध सुरु भएको हो । ७२ वर्षीय सुल्तान हसनल बोल्किय संसारकै धनी मध्येका एक हुन् । उनले संसारका ठूला होटलहरू सञ्चालन गरीरहेका छन् । इस्लामिक देश ब्रुनाईमा ४२०,००० मा दुई तिहाइ जनसंख्या इस्लाम धर्मालम्बीको छ ।

ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र सुल्तानले केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएका थिए। गएको शनिवार सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि सरिया मुलुकी संहिता लागु हुने घोषणा गरेको हो।

संयुक्त राष्ट्रसङ्घले पनि मुलुकी संहितालाई क्रूर, अमानवीय र अपमानजनक भएको र मानव अधिकार संरक्षणमा बाधा पार्ने बताएको छ।

-द गार्जिनको सहयोगमा

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७