‘यात्रामा हुनुहुन्छ ?’ चीन भन्छ, ‘७३७ म्याक्स ८ मोडलका बोइङ नचढ्नुहोस्’
काठमाडौं, २७ फागुन : चीन, इन्डोनेसिया र इथियोपियाले ‘बोइङ ७३७ म्याक्स ८ जेट’ लाई उडानमा प्रतिबन्ध लगाएको छ । इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि यो मोडलको बोइङ उडानमा अनिश्चितकालको लागि प्रतिबन्ध लगाइएको हो ।
आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको थियो । धावनमार्गबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।
चीनको उड्डयन नियामक निकायले घरेलु वायुसेवा कम्पनीहरूलाई ‘बोइङ ७३७ म्याक्स ८ जेट’ मोडलका विमानहरूको उडान स्थगित गर्न निर्देशन दिएको छ । इथियोपियन एअरलाइन्स र केमन एअरवेजले पनि यो मोडलका आफ्ना विमानहरू उडानबाट हटाएका छन् ।
चीनका विभिन्न एयरलाइन्समा यो मोडलका ९० विमान सञ्चालनमा छन् । एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स लगायतका कम्पनीहरू यो मोडलको बोइङ छ । चीनले ती विमानका सबै उडान स्थानीय समयानुसार साँझ ६ बजेभित्र स्थगित गर्न निर्देशन दिएको हो ।
प्रतिबन्ध किन ?
आइतबार चीनको नागरिक उड्डयन प्रशासनले जारी गरेको विज्ञप्तिमा ‘बोइङ ७३७ म्याक्स ८’ मोडलको बिमानमा समस्या भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुवै दुर्घटना भर्खर सञ्चालनमा आएका ‘बोइङ ७३७ म्याक्स ८’ विमान उड्नासाथ भएकाले तिनमा केही समानता छ ।’
अमेरिकी जहाज निर्माता कम्पनी बोइङको यही मोडलको अर्को जहाज गत अक्टोबर २९ मा इन्डोनेसियाको राजधानी जकार्ताबाट पाङकाल पिनाङ उडेको लायन एयरको जहाज पनि दुर्घटनामा परेको थियो । लायन एअरको स्वामित्वमा रहेको सो विमान पनि धावनमार्गबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त हुँदा १८९ जनाको मृत्यु भएको थियो ।
चीनको विज्ञप्ति र अन्तराष्ट्रिय एजेन्सीहरुका अनुसार यी दुबै विमान दुर्घटनामा एउटै प्रकारले भएको छ । दुबै जहाज टेकअफलगत्तै दुर्घटना परेका हुन ।
दुबै दुर्घटनामा पाइलटले जहाजमा समस्या देखिनासाथ टावरलाई फर्कन अनुमति मागेका पनि मागेको देखिन्छ तर जहाज नजिकको विमानस्थलमा आइनसक्दै दुर्घटनामा परेका छन् ।
कहाँ कहाँ छन्, यस्तो विमान ?
बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन् ।
नर्वेजियन एअरलाइन्ससँग १८ वटा त्यस्ता विमान छन् ।
तीमध्ये अधिकांशले आयरल्यान्ड र अमेरिकामा उडान गर्छन्। उसले ती विमान चलाउन छोडेको छैन । इन्डोनेसियाको लायन एयरसँग १३ र इथियोपियन एयरलायन्ससँग ५ वटा यस्ता जहाज छन् ।
सिल्कएअर, आरोलिनियस आर्जे्न्टिनास र एअर इटालीसँग पनि त्यस्ता विमानहरू छन्। उत्तर अमेरिकाका वायुसेवाहरूले पनि ती विमान चलाउँछन् । साउथवेस्ट एअरलाइन्ससँग ३१ एवम् एअर क्यानडा र अमेरिकन एअरलाइन्ससँग २४(२४ वटा ’बोइङ ७३७ म्याक्स ८ जेट’ छन्।
यो मोडलका झन्डै ३५० जहाज संसारभरि उडिरहेका छन् । विभिन्न ६० वटा एयरलायन्स कम्पनीले ५ हजार वटा जहाज बनाउन अर्डर दिइसकेका छन् । बोइङले यो मोडलका जहाज गत वर्षमात्रै २५० वटा बनाएर बेचेको थियो। यो मोडलका जहाज २०२३ सम्मका लागि बुक भइसकेका छन्।
(एजेन्सीहरुको सहयोगमा)