शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : प्रचण्ड


२०८१ चैत २ शनिबार १४:४८ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतिपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिए । ‘अहिले जे–जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन् । उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ’, उनले भने, ‘तर, मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए । झशिक्षा भौतिक पूर्वाधारको पनि पूर्वाधार हो। विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्यमा ह्रास आउनुको मुख्य कारण शिक्षाबारे सही र एकरूप बुझाइ नहुनु हो, उनले भने, ‘म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो । पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन ।’

प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिए ।
‘डू एण्ड डाइको अवस्थामा छौं’, शिक्षक महासंघका प्रतिनिधिहरूले भने, ‘विगतमा पनि शिक्षकका मागमा माओवादी र प्रचण्ड सतिसालझैं उभिनु भयो । यस पटक पनि काँध थाप्न अनुरोध छ । माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस् ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७