अख्तियारमा प्रहरीको भूमिकामाथि प्रश्नैप्रश्न


२०७५ फाल्गुण २७ सोमबार १०:३६ बजे

काठमाडौं, २७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्मदेव जैसी अधिकारी २०७५ माघ १३ मा चार लाख रुपैयाँ घुससहित पक्राउ परे ।

एक इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौंबाट खटिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित जैसीलाई पक्राउ गरेको थियो ।

४ लाख घुससहित पक्राउ परेका असई जैशीले डीएसपी राजेन्द्र श्रेष्ठले पठाएको बयान दिएका छन् । डीएसपी श्रेष्ठले घुस लेनदेनको कुरा मिलाइसकेपछि आफूलाई लिन पठाएको बयान दिएका छन् । प्रहरीका हाकिमले नै भ्रष्टसँग सेटिङ गरी कनिष्ट अधिकृतलाई घुस लिन पठाउने गरेको असई जैशीले खोलेपछि डीएसपी श्रेष्ठ छानबिनमा तानिने भएका छन् ।

त्यसैगरी, विशेष अदालतमा अभियोजन पत्र तयार गरी मुद्दा दर्ता गर्ने क्रममा समेत गडबड गरिएको खुलेको छ । एक प्रहरी अधिकृतको मुद्दा विशेष अदालतमा बुझाउने क्रममा एसपी दिनेश आचार्य र उपन्यायाधीवक्ता अशोक रेग्मीले घुस बरामद भएको मिति, समयदेखि धेरै कुरा गलत लेखेको खुलेको छ ।

विशेष अदालतमै गडबड मिति र समय बिगारिएको हो कि भनी छानबिन गर्दा अख्तियारबाटै मुद्दा बुझाउँदा गलत कुरा उल्लेख भएको खुलेपछि एसपी आचार्य र उपन्यायाधीवक्ता रेग्मीमाथि छानबिन सुरु भएको छ ।

उनीहरुले मातहतका कर्मचारीले मुद्दा तयार पार्दा मितिदेखि विभिन्न तथ्य बिगारेको भन्दै पन्छिन खोजेका छन् । तर मुद्दाको जिम्मा पाएका उनीहरुले यसो भन्दैमा उन्मुक्ति नपाउने बताइएको छ । प्रमुख आयुक्त नवीन घिमिरेले अख्तियारभित्रैको यस्तो चरम लापरबाहीमा आचार्य र रेग्मीमाथि गम्भीर रुपमा छानबिन गर्न लागेको स्रोतले बताएको छ ।

अख्तियारको प्रहरी महाशाखाबाट खटिएको टोलीले स्टीङ अप्रेसनका क्रममा लाने गरेको रातो पानी नै फेरेर सेतो पानी बिधि विज्ञान प्रयोगशालामा पठाएको तथ्य पनि भेटिएको छ । यसरी स्टीङ अप्रेसनमा परेका ब्यक्तिसँग लाभ लिएर पानी नै परिवर्तन गरिएको तथ्य पनि अख्तियारमा खुलेपछि प्रहरीको भूमिकाप्रति नै सन्देह पैदा भएको छ । त्यसैकारण अख्तियारका सबै प्रदेशका सम्पर्क कार्यालयमा प्रहरीका हाकिमलाई प्रमुखबाट हटाएर निजामतीतर्फका सहसचिवलाई तोकिएको छ । महत्वपूर्ण उजुरीमा पनि प्रहरीको भूमिका सीमित गर्ने दबाब प्रमुख आयुक्त नवीन घिमिरेमाथि परेको छ ।

डीआइजी प्रमुख रहने अख्तियारको प्रहरी महाशाखामा सरुवा हुन ठूलै सोर्सफोर्स चल्ने गरेको छ । अख्तियारमा सरुवा हुनका लागि सिपाहीदेखि एसएसपीसम्मले नै पावर प्रयोग गर्ने गरेका छन् । अख्तियारमा सरुवा हुने धेरै कारणमध्ये सतप्रतिशत भत्ता हो ।

अर्को बढुवा हुन र आकर्षक जिल्लामा सरुवा हुनका लागि आयुक्तहरुको सोर्सफोर्स लगाउन पाइने भएकाले पनि हो । तेस्रो कारण स्टीङ अप्रेसनदेखि भ्रष्टाचारमा उजुरीमा पैसा कमाउने उद्देश्य । लोकमानसिंह कार्कीको पालामा ५० प्रतिशत भन्दा बढी आकर्षक बृत्त वा जिल्लामा अख्तियारमा बसेकै आधारमा इन्चार्ज हुने गरेको देखिएपछि अख्तियारमा जान हानथाप नै हुने गरेको थियो ।

अख्तियारको प्रहरी महाशाखा प्रमुखमा डीआइजी ठाकुरप्रसाद ज्ञवाली छन् । प्रहरीमा ३० बर्षे सेवावधिको प्रावधान नहटे हालका आइजीपी सर्वेन्द्र खनालपछि ५ महिना आइजीपी नै हुँदैछन् ज्ञवाली । तर उनी प्रमुख भएको महाशाखाका प्रहरी अख्तियारमा घुसकाण्डदेखि मुद्दामा मिति बिगार्नेसम्म देखिएका छन् । यो समाचार आजको साँघु साप्ताहिकबाट लिइएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७