सरकारको विरोध गर्नेहरुलाई कामले जवाफ दिइन्छ : प्रधानमन्त्री
काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनियरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल प्रगतिशील इञ्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले इञ्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए ।
सरकार इञ्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।’
राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इञ्जिनियरको साथ सहयोग जरुरी छ ।’
वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
‘सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ ।’
प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इञ्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताएको उनको सचिवालयले जनाएको छ ।