काठमाडौं, ७ साउन । पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डो म्याड्रिड छोडेर इटालीको क्लव युभेन्ट गएपछि रोनाल्डाको ७ नम्बर जर्सी लगाउने भाग्यमानी को बन्ला भन्ने वहस शुरु भएको छ ।
भर्खरै सकिएको विश्वकपमा उत्कृष्ट प्रदर्शनपछि क्रोएसियाका मिडफिल्डर कप्तान लुका मोड्रिचलाई क्रिस्टियानो रोनाल्डोको चर्चित ७ नम्बर जर्सी दिन समर्थकहरूले रियल म्याड्रिड क्लबको व्यवस्थापकलाई चर्को दबाब दिइरहेका छन् । दुई साताअघि पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो म्याड्रिड छोडेर १० करोड युरोमा इटाली क्लब युभेन्ट्स लागेका छन् ।
रोनाल्डो क्लबबाट बाहिरिएपछि रिक्त रहेको उनको ७ नम्बर जर्सी मोड्रिचलाई दिन क्लब समर्थकले दबाब दिएका छन् । मोड्रिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया दुई साताअघि रुसमा सम्पन्न विश्वकपको फाइनल पुगेको थियो । मोड्रिच विश्वकपको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
रोनाल्डोको वर्हिगमनपछि उनका धेरै ‘फ्यान’ युभेन्ट्स क्लबतर्फ मोडिएका छन् । तर, म्याड्रिडलाई माया गर्ने ‘फ्यान’ रोनाल्डोको अनुपस्थितिमा मोड्रिचतर्फ मोडिएको स्पेनिस पत्रिका ‘एएस’ ले समाचार लेखेको छ । पत्रिकाका अनुसार हालको केही दिनयता मोड्रिचको टिसर्टको माग बढेको छ । म्याड्रिडका थुप्रै ‘फ्यान’ ले मोड्रिचको जर्सी लाउन थालेका छन् । मोड्रिच सन् २०१२ देखि म्याड्रिडमा आवद्ध छन् । आउँदो अगष्टमा आयोजना हुने अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा म्याड्रिड ९ वर्षयता पहिलोपल्ट रोनाल्डो बिना खेल्दैछ । एजेन्सी