डा.केसीलाई वार्तामा आउन सरकारको फेरि आव्हान, केसी पक्षबाट अस्वीकार


२०७५ श्रावण ५ शनिबार १०:२५ बजे
काठमाडौँ, ५ साउन :  सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गरेका हुन् । उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताए । संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडौं नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए । सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो यसबीचमा वार्ता टोलीले तीन पटक डा केसीका पक्षसँग वार्ता गरिसकेको छ । विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा केसीको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन सरकारले  जुम्लाबाट काठमाडौँ ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेकोसमेत उल्लेख गरिएको छ । केसी पक्षबाट अस्वीकार सरकारी वार्ता टोलीले केसीलाई वार्ताका लागि गरेको आह्वानलाई केसी पक्षले अस्वीकार गरेका छन् । शनिवार साँझ सरकारले वार्ताका लागि आह्वान गरेसँगै केसी पक्षले त्यसलाई विज्ञप्ती मार्फत अस्वीकार गरेको हो । सरकारी वार्ता टोलीका तर्फबाट निस्केको प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको पनि केसी पक्षीय वार्ता समिति सदस्य डा. जीवन क्षेत्रीले बताए । विज्ञप्तीमा भनिएको छ, ‘सरकारद्वारा गठित टोलीसँग आवश्यक म्यान्डेट नभएको र त्यस अवस्थामा वार्ताकै लागि वार्ता गरिरहँदा मुल्यवान समय खेर गएको छ । त्यसैले सार्थक वार्ताका लागि हाल संसदमा रहेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न र पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरिन्छ ।’ विधेयक फिर्ता गरेर सार्थक र परिणाममुखी वार्ताका लागि पूर्ण म्यान्डेटसहित सरकारी टोली आउनासाथ तत्काल वार्तामा बस्ने क्षेत्रीले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७