भारतको १८४ अर्ब ऋण आवश्यकता र आयोजनाको प्रगतिअनुसार खर्च हुन्छ : अर्थमन्त्री


२०८३ मङ्सिर ८ मंगलबार १६:५८ बजे
फाइल फोटो

काठमाडौं : भारतबाट सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त हुने १८४ अर्ब रुपैयाँ तत्काल खर्च गर्नुपर्ने रकम नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

वाग्लेले नेपालले भारतबाट ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण प्राप्त गर्ने व्यवस्था भएको जानकारी दिए । यी वित्तीय स्रोतले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा लगानी अभाव हुन नदिने उनको भनाइ छ ।

नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनले बताए । विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा यसको प्रभावकारी उपयोग गर्न सकिने उनको भनाइ छ ।

‘समग्रमा, भारत भ्रमणबाट नेपालले ५६ अर्ब रुपैयाँ बराबरको अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटसहित महत्वपूर्ण आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गरेको छ,’ उनले भने ।

यद्यपि, १८४ अर्ब रुपैयाँ ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे प्राविधिक वार्ता हुन बाँकी रहेको उनले स्पष्ट पारे ।

यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावले नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण भएको बताए ।

यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या देखिएको उनको भनाइ थियो । तर ऊर्जा क्षेत्रमा भने यस्तो ऋण प्रभावकारी रूपमा उपयोग गर्न सकिने उनले दाबी गरे ।

बैठकमा अर्थमन्त्री वाग्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु पनि भारत भ्रमणको महत्वपूर्ण उपलब्धि भएको बताए ।

नेपालले विगत १० देखि १२ वर्षदेखि दोहोरो हवाई रुटका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनले यसअघि एकतर्फी रहेको रुटलाई दुईतर्फी बनाइएको जानकारी दिए । यसले नेपालको नागरिक उड्डयन क्षेत्र सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि भारत तथा अन्य अन्तर्राष्ट्रिय सहरसँग हवाई सम्पर्क विस्तार गर्ने योजना रहेको वाग्लेले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७