हवाई मार्ग, बन्दरगाह र जलविद्युत् आयोजनामा भारतसँग सहकार्य विस्तार
नेपाल-भारतको संयुक्त विज्ञप्ति जारी : यी हुन् महत्त्वपूर्ण बुँदा
नयाँदिल्ली : नेपाल र भारतबीच हवाई तथा जलमार्गको पहुँच विस्तारदेखि रेल, पेट्रोलियम पाइपलाइन र जलविद्युत् आयोजनासम्मका क्षेत्रमा सहकार्य अघि बढाउने सहमति भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यले दुई देशबीच पूर्वाधार र कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राखेको छ ।
दुई देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अघि सार्दै आर्थिक, ऊर्जा, जलस्रोत, डिजिटल सेवा, जलवायु अनुकूलन, विपद् व्यवस्थापन र नवप्रवर्तनलगायतका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
यसमध्ये ३ हजार ५ सय करोड भारतीय रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान र ११ हजार ५ सय करोड भारतीय रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ ।
हवाई रुट र समुद्री बन्दरगाहमा पहुँचः नेपालको अन्तर्राष्ट्रिय हवाई तथा पारवहन पहुँच विस्तारका लागि महत्त्वपूर्ण सहमति भएको छ ।
हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाइने भएको छ । यसको कार्यान्वयनका लागि दुवै देशका अधिकारीबीच प्राविधिक परामर्श हुनेछ ।
त्यस्तै, भारतले नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातस्थित काण्डला बन्दरगाह प्रयोग गर्ने नयाँ मार्ग उपलब्ध गराउने भएको छ ।
आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहमा समेत नेपाललाई पहुँच दिइने संयुक्त वक्तव्यमा उल्लेख छ ।
रेलमार्ग र सीमा पूर्वाधारमा सहकार्यः दुई प्रधानमन्त्रीले अयोध्या–जनकपुरधाम रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । यसले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति पनि भएको छ ।
सीमा पूर्वाधारतर्फ वनबासामा नयाँ एकीकृत जाँच चौकीको भर्चुअल शिलान्यास गरिएको छ ।
भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन जाँच चौकीको प्रगतिप्रति पनि दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् । धार्चुला र दार्चुला जोड्ने नयाँ मोटरेबल पुलको उद्घाटनसमेत गरिएको छ ।
पेट्रोलियम पाइपलाइन र जलविद्युत् आयोजनामा प्रगतिः ऊर्जा तथा पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढाउने सहमति भएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ ।
झापामा पेट्रोलियम भण्डारण टर्मिनलको भर्चुअल शिलान्यास गर्दै सिलिगुडी–झापा पाइपलाइनको काम अघि बढाउने सहमति भएको छ । ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्य खोजिने भएको छ ।
विद्युत् क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुंग्याएर निर्माण अघि बढाउन दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयार गर्ने काम तीव्र बनाउने सहमति भएको छ ।
इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम गठनमा भएको प्रगतिप्रति पनि दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।
नेपालमा आईआईटी क्याम्पस स्थापना : शिक्षा तथा प्रविधि क्षेत्रमा भारतको सहयोगमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति भएको छ । यसबाट उच्च प्राविधिक शिक्षाको अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन दुवै पक्ष सहमत भएका छन् ।
भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको पनि संयुक्त वक्तव्यमा स्वागत गरिएको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना र भारतको सहयोगमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिप्रति दुवै नेताले सन्तोष व्यक्त गरेका छन् ।
सीमा स्तम्भको मर्मतसम्भारमा भएको प्रगतिको प्रशंसा गर्दै बाँकी सीमासम्बन्धी विषय समाधान गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ ।
प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमणका क्रममा द्विपक्षीय सहयोग, क्षेत्रीय चासो र विश्वव्यापी घटनाक्रमबारे विस्तृत छलफल भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
भ्रमणका क्रममा विभिन्न आठ विषयमा समझदारीपत्र आदानप्रदान भएका छन् ।
.gif)

.png)




