भारतका पारादीप र कान्डला बन्दरगाह नेपालले प्रयोग गर्न पाउने
नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात–निर्यातका लागि भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।
भारतले उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच नेपाललाई दिने भएको हो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रतिनिधिमण्डलबीच सोमबार भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन् ।
नेपालले यसअघि तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आएको थियो । सन् २०१९ मै यी दुई बन्दरगाह प्रयोग गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको थियो ।
यसपटक पनि धाम्रा र मुन्द्रा बन्दरगाहको अनुमति दिने विषयमा सहमति भएको चर्चा चलेको थियो । तर, अन्तिम सहमतिमा उही राज्यका फरक बन्दरगाह नेपालले प्रयोग गर्न पाउने भएको छ ।
धाम्रा र मुन्द्रा दुवै बन्दरगाहको व्यवस्थापन निजी क्षेत्रको अडानी समूहले गर्दै आएको छ । तर, अहिले नेपाललाई पहुँच दिने घोषणा गरिएका पारादीप र कान्डला बन्दरगाह भारत सरकारको सञ्चालन तथा व्यवस्थापनअन्तर्गत छन् ।
हाल नेपालले भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालका कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै व्यापारिक मार्गका रूपमा लिने गरेको छ ।
कोलकातामा साना जहाज आउने गर्छन् भने ठूला जहाज हल्दियामा आउने गर्छन् । त्यसबाहेक आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहबाट पनि नेपालले तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ ।
यी तीन बन्दरगाहबाहेक अन्य बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्था मिलाउन नेपालले लामो समयदेखि भारतसँग माग गर्दै आएको थियो ।
पारादीप र कान्डलाको पहुँच थपिएसँगै नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि समुद्री बन्दरगाहका विकल्प विस्तार हुनेछन् ।
.gif)

.png)




