छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै


२०८३ कार्तिक २९ आइतबार ०८:२७ बजे
फाइल फोटो

काठमाडौं : चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

छठ पर्वको धार्मिक तथा पौराणिक महत्त्वसमेत रहेको छ । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए ।

त्यसबेला पाण्डवहरू विराट राजाको दरबारमा बसेको उल्लेख छ । लोककथनअनुसार त्यही समयदेखि छठ मनाउने परम्परा सुरु भएको मानिन्छ ।

सूर्य पुराणमा भने अत्रिमुनिकी पत्नी अनुसूयाले सबैभन्दा पहिले छठ व्रत गरेको उल्लेख छ । व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेपछि छठ पर्व मनाउने परम्परा सुरु भएको धार्मिक मान्यता छ ।

सूर्यलाई सम्पूर्ण भौतिक विकासको आधार मानिन्छ । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व सम्भव नहुने विश्वास गरिन्छ । सूर्यको किरणबाट विभिन्न रोगको उपचारसम्बन्धी अध्ययन र अनुसन्धानसमेत हुँदै आएको छ ।

पुराणमा भगवान् श्रीकृष्णका छोरा साम्ब पिता श्रीकृष्ण र महर्षि दुर्वासाको सरापका कारण कुष्ठरोगबाट पीडित भएको र सूर्यदेवको आराधनापछि रोगमुक्त भएको प्रसङ्ग उल्लेख छ । छठमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ ।

यस पर्वमा झुप्पा–झुप्पा फलफूल चढाउँदा सूर्यदेव प्रसन्न भई व्रतालुका परिवार र सन्तानको कल्याण हुने मान्यता पनि छ । व्रत बस्न नसक्नेले भने अरू व्रतालुमार्फत आफ्नो कामना पूरा गराउने चलन छ ।

चार दिनसम्म गरिने व्रतविधि

छठको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीमा स्नान गरी एक छाक खाना खाएर व्रतको सुरुआत गरिन्छ । दोस्रो दिन पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाइन्छ । त्यसपछि व्रतालुले प्रसादका रूपमा खीर ग्रहण गर्छन् र नुन नखाई एक छाक फलाहार गर्छन् ।

तेस्रो दिन अर्थात् कार्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने परम्परा छ । गुह्येश्वरी गौरीघाट छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीका दिन रातभर जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ ।

“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ”, उनले भने ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा छालासम्बन्धी रोग नलाग्ने धार्मिक विश्वाससमेत रहेको छ ।

तराईबाट राष्ट्रिय पर्वका रूपमा विस्तार

२०४६ सालअघि तराईका सीमित क्षेत्रमा मात्रै मनाइने छठ पर्वले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । सरकारले २०४६ सालदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालेको थियो । बीचका केही वर्ष बिदा कटौती गरिए पनि पछिल्लो समय पुनः सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ ।

छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि तयारी गरिएको छ । राजधानीको गुह्येश्वरीदेखि गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा सजावट गरिएको छ ।

व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ त्यागेर सात्विक भोजन गर्ने गरेका छन् ।

कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७