अमेरिकाको हवाई सेवा अस्तव्यस्त : ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु प्रभावित
काठमाडौं : अमेरिकाको पुरानो एयर ट्राफिक कन्ट्रोल प्रणालीमा आएको समस्याले देशभरको हवाई सेवा अस्तव्यस्त बनेपछि त्यसलाई आधुनिकीकरण गर्न ३० अर्ब डलर बजेट माग गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रणाली सुधारका लागि कंग्रेससँग अतिरिक्त रकम मागेका हुन् । यसैबीच, सञ्चार प्रणालीमा आएको खराबीका कारण शुक्रबार ८ हजारभन्दा बढी उडान रद्द हुँदा करिब १५ लाख यात्रु प्रभावित भएका छन् ।
एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा कारण देखाउँदै देशभरका विमानस्थलमा उडान रोक्न आदेश दिएको थियो ।
चार घण्टाभन्दा बढी समयपछि शुक्रबार राति प्रतिबन्ध हटाइए पनि त्यसको असर शनिबारसम्म कायम रह्यो । शनिबार पनि ठूलो सङ्ख्यामा उडान रद्द गर्नुपरेको छ ।
ट्रम्पले रिपब्लिकन सिनेटर एरिक स्मिटसँग फोनमा कुरा गर्दै एटीसी प्रणाली आधुनिकीकरणसम्बन्धी विधेयक कंग्रेसबाट छिट्टै पारित गराउन आग्रह गरेका छन् ।
प्रस्तावित ३० अर्ब डलरबाट एयर ट्राफिक कन्ट्रोल प्रणाली, विमानस्थलका टावर, टर्मिनल र अन्य अत्यावश्यक उड्डयन पूर्वाधारको स्तरोन्नति गरिनेछ ।
अमेरिकी यातायात मन्त्री सिन डफीले भने प्रणाली अपग्रेड गर्न ५० अर्ब डलर आवश्यक रहेको बताएका छन् । उनका अनुसार सामान्य मर्मतले मात्रै समस्या समाधान हुँदैन, एटीसी प्रणालीलाई पूर्ण रूपमा आधुनिकीकरण गर्नुपर्छ ।
गत वर्ष कंग्रेसले यसका लागि १२.५ अर्ब डलर स्वीकृत गरेको थियो । पर्याप्त रकम नदिएको भन्दै डफीले कंग्रेसको आलोचनासमेत गरेका छन् ।
साइबर आक्रमणको सङ्केत छैन, कारण अझै अस्पष्ट
अमेरिकाका होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले एटीसी सञ्चार प्रणालीमा आएको खराबीमा साइबर आक्रमणको कुनै सङ्केत नदेखिएको बताएका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक अनुसन्धानले दूरसञ्चार प्रणालीको प्राविधिक खराबीतर्फ सङ्केत गरेको जानकारी दिए । यद्यपि, समस्याको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन ।
सञ्चार प्रणालीमा आएको खराबी नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीसँग सम्बन्धित छ कि छैन भन्ने विषयमा पनि एफएएका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
उक्त एआई प्रणालीले एयर ट्राफिक कन्ट्रोललाई सम्भावित समस्या पहिचान गर्न र विमानको रुट परिवर्तन गर्न सुझाव दिने गर्छ ।
अमेरिकी सरकारले पुरानो एटीसी प्रविधि विस्थापन गर्ने क्रममा पुराना तारको सट्टा फाइबर अप्टिक केबल र नयाँ रेडियो प्रणाली जडान गरिरहेको छ । यस परियोजनाका लागि गत वर्ष १२.५ अर्ब डलर स्वीकृत भए पनि काम अझै बाँकी छ ।
सिकागोबाट सुरु भएको थियो उडान रोक्ने निर्णय
रिपोर्टहरूका अनुसार अमेरिकाभर एकैपटक उडान रोकिएको थिएन । सञ्चार प्रणालीमा समस्या देखिएपछि सिकागोका ओ’हारे र मिडवे विमानस्थलबाट उडान रोक्ने निर्णय सुरु भएको थियो ।
पछि समस्या अन्य एयर ट्राफिक कन्ट्रोल सेन्टरमा पनि देखिएपछि देशभर ‘ग्राउन्ड स्टप’ लागू गरिएको थियो । एफएएको सूचनाअनुसार अर्को आदेश नआएसम्म उडान रोक्ने व्यवस्था लागू रहने भनिएको थियो ।
फ्लाइट राडार २४ का अनुसार त्यस समयमा अमेरिकी आकाशमा अवतरण गर्न नसकेका धेरै उडान देखिएका थिए ।
उडान रोकिएको समयमा आकाशमा रहेका विमानलाई भने अवतरण गर्न अनुमति दिइएको थियो । उनीहरूलाई फर्काइएको थिएन ।
तर, विमानस्थलमा रहेका विमानले उडान भर्न पाएनन् । अन्य देशबाट अमेरिका आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका हकमा भने प्रत्येक घटनाको अवस्था हेरेर छुट्टाछुट्टै निर्णय गरिएको थियो ।
सन् २००१ सेप्टेम्बर ११ को आतङ्कवादी हमलापछि अमेरिकामा सबै उडान रोकिएको यो दोस्रो घटना हो । यसअघि सन् २०२३ जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा पनि यस्तै अवस्था सिर्जना भएको थियो ।
उडान रद्द भए यात्रुले पूरा रकम फिर्ता पाउने
अमेरिकामा उडान रद्द भए यात्रुले टिकटको पूरै रकम फिर्ता पाउने अधिकार छ । उडान रद्द हुनुको कारण जेसुकै भए पनि यो नियम लागू हुन्छ ।
उडानमा धेरै ढिलाइ भएमा वा समय परिवर्तन हुँदा यात्रुले यात्रा नगर्ने निर्णय गरे पनि रिफन्ड माग्न सक्छन् ।
थ्याङ्क्सगिभिङ बिदाभन्दा करिब दुई साताअघि यो घटना भएको हो । ‘एयरलाइन्स फर अमेरिका’ का अनुसार बिदाको समयमा अमेरिकी एयरलाइन्सबाट दैनिक औसत २७ लाख यात्रुले यात्रा गर्ने अनुमान छ ।
(एजेन्सीहरूको सहयोगमा)
.gif)

.png)




