बडिमालिका प्रवर्द्धन गर्न ३ हजार ५५५ मिटर उचाइमा नगर कार्यपालिका बैठक


२०८३ कार्तिक २८ शनिबार १०:३० बजे
नगर प्रमुख जनक बोहराको फेसबुकबाट

काठमाडौं : बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकाको पर्यटन प्रवर्द्धन गर्न बुढीनन्दा नगरपालिकाले समुद्री सतहबाट ३ हजार ५ सय ५५ मिटर उचाइमा कार्यपालिका बैठक आयोजना गरेको छ ।

उच्च हिमाली क्षेत्रको बाणेपाटनमा बसेको बैठकले बडिमालिका पुग्ने छोटो पदमार्गको प्रचारप्रसारदेखि पर्यटकीय पूर्वाधार निर्माण र स्थानीयलाई पर्यटन व्यवसायमा जोड्नेसम्मका योजना अघि सारेको छ ।

बुढीनन्दा नगरपालिका–९ स्थित बाणेपाटनमा नगरप्रमुख जनककुमार बोहराको अध्यक्षतामा बैठक बसेको हो ।

बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन, पोरेखे हुँदै बडिमालिका पुग्ने छोटो मार्गको विकास र त्यस क्षेत्रको सम्भावनाबारे छलफल गर्न उच्च हिमाली भूभागमै बैठक राखिएको नगरप्रमुख बोहराले बताए ।

बडिमालिका सुदूरपश्चिमको प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य हो । समुद्री सतहबाट करिब ४ हजार २ सय १६ मिटर उचाइमा रहेको यस क्षेत्रमा प्राकृतिक सौन्दर्य, हरियाली पाटन, विशाल फाँट र हिमाली दृश्यका साथै धार्मिक आस्थाका कारण हरेक वर्ष हजारौँ तीर्थयात्री तथा पर्यटक पुग्ने गर्छन् ।

विशेषगरी जनैपूर्णिमाका अवसरमा यहाँ मेला लाग्ने गरेको छ । बडिमालिका मन्दिरमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

त्रिवेणी पाटन, नाटेश्वरी, खेतीबेतीका सुन्दर पाटन र आसपासका हिमाली भूभागले यस क्षेत्रको आकर्षण थप बढाएका छन् ।

नगरप्रमुख बोहराका अनुसार बाणेपाटन हुँदै बडिमालिका पुग्ने बाटो अन्य प्रचलित मार्गभन्दा छोटो र सहज छ ।

अन्य मार्गबाट दुईदेखि तीन दिन पैदल हिँड्नुपर्ने भए पनि बाणेपाटनबाट करिब चार घण्टामै बडिमालिका पुग्न सकिने उनको दाबी छ ।

‘बडिमालिका पुग्ने सबैभन्दा छोटो र राम्रो बाटो बाणेपाटन हुँदै हो । तर यो बाटोबारे धेरैलाई जानकारी छैन । बडिमालिकाको प्रवर्द्धन गर्न र यहाँ पुग्ने छोटो तथा सहज मार्गबारे सबैलाई जानकारी गराउन कार्यपालिका बैठक नै यहाँ राखेका हौँ,’ उनले भने ।

उनका अनुसार काठमाडौंबाट बिहान नेपालगन्ज हुँदै कोल्टी पुगेर बाणेपाटनको बाटोबाट सोही दिन त्रिवेणी वा बडिमालिका पुग्न सकिन्छ । भोलिपल्ट बिहान दर्शन गरेर कोल्टी फर्किन सकिने भएकाले यो मार्गको प्रचारप्रसारले पर्यटकलाई सहज हुने नगरपालिकाको अपेक्षा छ ।

बैठकले बाणे क्षेत्रलाई बडिमालिकाको आधार क्षेत्र तथा विशेष प्रवेशद्वारका रूपमा विकास गर्ने निर्णय गरेको छ ।

साथै पोरेखे, बाणे र दिउडा क्षेत्रको प्रचारप्रसार गर्ने, बाणेमा अतिथिगृह निर्माण गर्ने र आवश्यक सङ्केत चिह्न राख्ने निर्णय गरिएको नगरप्रमुख बोहराले जानकारी दिए ।

पोरेखे–बाणे पर्यटन क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने, हिमाली गाउँपालिका–४ फैतीका वासुदेव मल्ललाई यस क्षेत्रको पर्यटन दूतका रूपमा घोषणा गरी सम्मान गर्ने तथा बाणे र दिउडा क्षेत्रमा योग शिविर सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

यस क्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको योजना छ ।

उच्च हिमाली क्षेत्रमा आयोजित बैठकमा कार्यपालिका सदस्य, नेपाल पत्रकार महासङ्घ बाजुराको टोली तथा बडिमालिका नेचर प्रालिका प्रतिनिधिको सहभागिता थियो ।

बडिमालिका क्षेत्रको पर्यटन विकास, प्राकृतिक सम्पदाको संरक्षण र पर्यटकको आवागमन सहज बनाउने अभियानमा बडिमालिका नेचर प्रालिले पनि साथ दिएको छ ।

प्रालिका अध्यक्ष कृष्ण ओलीले बाणेपाटनलाई आधार शिविरका रूपमा प्रवर्द्धन गर्न सके बडिमालिका पुग्ने पर्यटकलाई सहज हुने बताए । ‘यो बेसक्याम्प प्रवर्द्धन यात्राले बडिमालिका आउने पर्यटकलाई धेरै सहज हुनेछ । बाणेपाटन हुँदै जाने बाटोबारे सबैलाई जानकारी गराउन आवश्यक छ,’ उनले भने ।

बडिमालिका नेचर प्रालिले यसअघि यस क्षेत्रमा सरसफाइ अभियानसमेत सञ्चालन गरेको थियो । पर्यटन प्रवर्द्धनसँगै प्राकृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने प्रालिको भनाइ छ ।

बाणेपाटन, पोरेखे र दिउडा क्षेत्रको व्यवस्थित विकास तथा प्रचारप्रसारले बडिमालिका पुग्ने वैकल्पिक पर्यटकीय मार्ग विकास हुनुका साथै बाजुराको पर्यटन, स्थानीय आर्थिक गतिविधि र रोजगारीका अवसर विस्तारमा योगदान पुग्ने नगरप्रमुख बोहराको विश्वास छ ।

वाणे घोषणापत्रमार्फत ११ बुँदे प्रतिबद्धता

बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय आर्थिक समृद्धिका लागि बुढीनन्दा नगरपालिकाले ११ बुँदे ‘वाणे घोषणापत्र–२०८३’ जारी गरेको छ । नगरपालिकाले आयोजना गरेको पोरेखे–बडिमालिका वाणे बेसक्याम्प पहिचान तथा प्रवर्द्धन पदयात्राका क्रममा घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा बडिमालिका पुग्ने छोटो तथा सहज मानिएको पोरेखे प्रवेशद्वार हुँदै जाने पदमार्गलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउने तथा वाणे क्षेत्रलाई व्यवस्थित बेसक्याम्पका रूपमा विकास गर्ने प्रतिबद्धता गरिएको छ ।

बडिमालिका धार्मिक गन्तव्य मात्र नभई प्रकृति, आस्था, संस्कृति, जैविक विविधता र प्राकृतिक सौन्दर्यको संगम भएकाले यसको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

घोषणापत्रमा वाणे–दिउडा पाटनसम्म सडक पहुँच विस्तारका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख छ ।

वातावरणीय तथा प्राविधिक प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायसँग समन्वय गर्ने र पालिकास्तरबाटै काम सुरु गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

त्यस्तै, वाणे क्षेत्रमा पर्यटक आवास, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना केन्द्र, उद्धार तथा प्राथमिक उपचार सेवाजस्ता आधारभूत पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ ।

पर्यटक तथा तीर्थयात्रीको आवागमन सहज बनाउन नगरपालिकाले एक वर्षसम्म निःशुल्क पर्यटनमैत्री जीप सेवा सञ्चालन गर्ने भएको छ । कोल्टीदेखि फूलचढाउने क्षेत्रसम्म उक्त सेवा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

पर्यटनलाई स्थानीय आर्थिक समृद्धिसँग जोड्न वाणे, पोरेखे र आसपासका क्षेत्रका नागरिकलाई होमस्टे, स्थानीय खानाका परिकार, भेडापालन, ऊनजन्य उत्पादन तथा घोडा र खच्चड सेवामार्फत पर्यटन व्यवसायमा सहभागी गराउने योजना पनि अघि सारिएको छ ।

उच्च लेकाली क्षेत्रको प्राकृतिक वातावरण र स्वास्थ्यवर्द्धक सम्भावनालाई उपयोग गर्दै वाणेमा राष्ट्रियस्तरको योग शिविर तथा पर्यटन सम्मेलन आयोजना गर्न पहल गरिनेछ । योग, ध्यान, स्वास्थ्य, प्रकृति र पर्यटनलाई एकीकृत गरी यस क्षेत्रलाई नयाँ पर्यटकीय पहिचान दिलाउने लक्ष्य राखिएको छ ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि जुम्लाको चन्दननाथ मन्दिरबाट परम्परागत रूपमा आउने पेठारो तथा सरकारीस्तरबाट हुँदै आएको धार्मिक पूजालाई निरन्तरता दिन सम्बन्धित निकायसँग समन्वय गर्ने घोषणापत्रमा उल्लेख छ ।

बडिमालिका, पोरेखे, वाणे र दिउडा पाटनको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न वृत्तचित्र, प्रचार सामग्री, डिजिटल प्रवर्द्धन र पर्यटन अभियान सञ्चालन गरिनेछ । यस क्षेत्रलाई रारा–खप्तड–बडिमालिका पर्यटन सर्किटसँग जोड्ने पहलसमेत गरिने भएको छ ।

प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षणका लागि प्लास्टिकजन्य फोहोर नियन्त्रण, सरसफाइ अभियान र जिम्मेवार पर्यटनलाई प्राथमिकता दिइनेछ । घोषणापत्रमार्फत वाणे क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ ।

बडिमालिका क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी, स्थानीय समुदाय, पत्रकार, सामाजिक अभियन्ता, विज्ञ तथा सरकारी निकायबीच सहकार्य र समन्वय गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा छ ।

त्यसका लागि आवश्यक बजेट व्यवस्थापन, प्रदेश तथा संघीय सरकारसँग समन्वय र दीर्घकालीन गुरुयोजना निर्माण गरिने जनाइएको छ ।

उच्च लेकाली भूभाग वाणेमा पहिलोपटक नगर कार्यपालिकाको बैठक आयोजना गरेर बुढीनन्दा नगरपालिकाले यस क्षेत्रको पर्यटन विकासप्रतिको प्रतिबद्धता सार्वजनिक गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७