अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोको फोन, सामाजिक सञ्जालमा सरकारलाई चुनौती
काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन गरेर ब्युरोमा उपस्थित हुन भनिएको हो ।
साइबर ब्युरोको फोनपछि आफू काठमाडौं फर्किरहेको र ब्युरोमा उपस्थित हुने शिवाकोटीले बताएका छन् । उनले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु ।’
शिवाकोटीले पछिल्ला केही दिनदेखि सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको आरोप लगाउँदै आएका छन् ।
उनले प्रतिपक्षले उठाएका प्रश्नको सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताउँदै आएका छन् ।
ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो ।
खड्कासम्बन्धी विषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शिवाकोटीले उनका कुरा किन पत्याउने भन्ने प्रश्न गरेका थिए । उनले सरकारलाई प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको जवाफ दिनसमेत आग्रह गरेका थिए ।
यसैगरी, प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीसमक्ष दिएको भनिएको बयानको अडियो रेकर्ड सार्वजनिक भएको विषयमा पनि शिवाकोटीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका थिए ।
साइबर ब्युरोले उनलाई के विषयमा सोधपुछ गर्न बोलाएको हो भन्नेबारे औपचारिक विवरण भने सार्वजनिक भएको छैन । शिवाकोटीले भने ब्युरामा उपस्थित हुने बताएका छन् ।
.gif)

.png)




