संसद खुलाउन विपक्षी दलहरू लचक, प्रधानमन्त्रीले लिखित ‘स्टेटमेन्ट’ पठाए हुने

सूचना टाँसेर सारियो प्रतिनिधि सभाको बैठक


२०८३ जेठ २७ बुधबार १३:४८ बजे
फाइल तस्बिर

काठमाडाैं : अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्ने विषयमा विपक्षी दलहरू केही लचक देखिएका छन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा सदन अवरुद्ध गर्दै आएका विपक्षीहरू रास्वपा सभापति रवि लामिछानेको नयाँ प्रस्तावपछि मध्यमार्गी बाटो अपनाउन तयार भएका हुन्।

सभापति लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव गरेपछि विपक्षीहरू प्रधानमन्त्री स्वयं उपस्थित नभए पनि उनीकै हस्ताक्षर भएको लिखित जवाफ (स्टेटमेन्ट) संसदमा पेस गरिनुपर्ने सर्तमा सहमत भएका छन्। प्रधानमन्त्री आउन नसक्नुको कारण खुलाउँदै उनको आधिकारिक लिखित धारणा आएमा जुनसुकै मन्त्रीले पढे पनि बैठक चल्न दिने विपक्षीहरूको अडान छ।

यो लचकतासँगै बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो २ बजेका लागि सारिएको छ भने लिखित स्टेटमेन्टको प्राविधिक विषय टुङ्गिने बित्तिकै संसदको गतिरोध अन्त्य हुने सम्भावना बढेको छ।

यता छलफल जारी रहेकोले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर सारिएको छ।   आजै अपराह्न २ बजेका लागि प्रतिनिधि सभाको बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। मंगलबार बैठक सञ्चालन हुन नसकेपछि आज बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको थियो। 

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधि सभाको बैठक अपराह्न २ बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७