प्रस्तावित राजदूत सुनारलाई सांसदहरूको सुझाव, ‘रिजेक्ट हुनुभन्दा नाम फिर्ता लिनुस्’
महिला हिंसा, आर्थिक लेनदेन र जर्मनीबाट निष्कासनबारे सुनारले भने, १३ वर्ष पुरानो विवादलाई अतिरञ्जित गरियो
काठमाडौं : साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारलाई संसदीय सुनुवाइ समितिका सांसदहरूले आफ्नो नाम फिर्ता लिन सुझाव दिएका छन्।
बुधबार बसेको समितिको बैठकमा सांसदहरूले उनीमाथि परेका विभिन्न उजुरी र आरोप उठाउँदै राजदूतका रूपमा सिफारिस कायम राख्नुको सट्टा आफैँले नाम फिर्ता लिन उपयुक्त हुने धारणा राखेका हुन्।
बैठकमा सांसदहरूले सुनारमाथि महिला हिंसा, अनुचित आर्थिक लेनदेन र जर्मनीबाट निष्कासन भएको भनिएको विषयमा प्रश्न उठाएका थिए। उनीमाथि परेका उजुरीबारे स्पष्ट जवाफ माग्दै सांसदहरूले उच्च नैतिक चरित्र राजदूत नियुक्तिको महत्त्वपूर्ण आधार भएको बताएका थिए।
बैठकमा नेकपाका सांसद वर्षमान पुनले सुनारमाथि परेका उजुरी गम्भीर प्रकृतिका रहेको भन्दै नाम फिर्ता लिन सुझाव दिए। उनले महिलामाथि हिंसा गरेको, सासू–ससुरा र सन्तानलाई दुःख दिएको तथा गलत संगत गरेको भन्ने आरोपहरू बैठकमा उठाए।
‘यस्तो गलत कुरामा अडिन राम्रो हुँदैन। मैले जवाफ पनि मागिरहेको छैन। तपाईं नाम फिर्ता लिनुस् भन्ने हो,’ पुनले भने, ‘उच्च नैतिक चरित्र भएको मान्छेलाई राजदूत पठाउने तथ्य छ। अडियो भिडियो सुनाउन पनि सकिन्छ।’
उनले नाम फिर्ता लिएमा समितिबाट अयोग्य ठहर वा सिफारिस अस्वीकार गर्ने अवस्था नआउने धारणा राखे। महिला हिंसाको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले सीमान्तकृत समुदायमाथिको पीडालाई पनि बेवास्ता गर्न नसकिने बताए।
यसैगरी नेकपा (एमाले) की सांसद पद्मा अर्यालले पनि सुनारमाथि उठेका आरोपले उनको नैतिक चरित्रमाथि प्रश्न खडा गरेको बताइन्। राजदूत नियुक्तिका लागि उच्च नैतिक चरित्र आवश्यक रहेको उल्लेख गर्दै उनले सुनारको सिफारिसमाथि प्रश्न उठाइन्।
अर्यालले विवाहित व्यक्तिको अर्को महिलासँग प्रेम सम्बन्ध रहेको र अनुचित आर्थिक लेनदेनमा संलग्न भएको भन्ने आरोपबारे प्रश्न गर्दै यस्तो अवस्थामा राजदूतका रूपमा सिफारिस गर्न मिल्ने आधार के हो भन्ने जवाफ मागिन्।
यस्तै सांसद प्रेम दंगालले सुनारमाथि महिला हिंसाको आरोप र जर्मनीबाट निष्कासन भएको भनिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
राष्ट्रिय दलित आयोगको कार्यक्रममा अनुवादकका रूपमा जर्मनी गएको बेला भिसाको निर्धारित अवधिभन्दा बढी बसेको र त्यसपछि निष्कासनमा परेको आरोप उनले उठाए।
दंगालले महिला हिंसासम्बन्धी उजुरी र अन्य आरोपबारे उपलब्ध प्रमाणको अध्ययन तथा विश्लेषण गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे। ती आरोपको प्रकृति हेर्दा राजदूतमा सिफारिस गर्न कठिन हुने उनको भनाइ थियो।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले पनि सुनारमाथि परेका उजुरी उद्धृत गर्दै प्रश्न गरेका थिए।
उनले महिलामाथि घरेलु हिंसा गरेको र ललितपुर प्रहरीमा मिलापत्र भएको भनिएको विषय, दलित अभियन्ताका नाममा करोडौँ रुपैयाँ असुलेको आरोप, प्रहरी अधिकारीलाई बढुवा गराइदिने भन्दै रकम उठाएको तथा सांसद बनाइदिने प्रलोभनमा रकम असुलेको भनिएको विषयमा स्पष्टीकरण मागेका थिए।
‘हाम्रो नेपाल पार्टी’ को केन्द्रीय सदस्यका रूपमा रहेको भनिएको आबद्धता र जर्मनीबाट निष्कासन भएको आरोपले नेपालको कूटनीतिक छविमा पार्न सक्ने असरबारे पनि उनले प्रश्न उठाएका थिए।
सांसद गजला समीम मिकरानीले समेत पुनले दिएको सुझावअनुसार सुनारले आफैँ नाम फिर्ता लिनु उपयुक्त हुने धारणा राखिन्।
१३ वर्ष पुरानो विवादलाई अतिरञ्जित गरियो
यसैबीच बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत सुनारले आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन्। उनले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित गरेर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरे।
समितिमा उठेका आरोपबारे सुनारको जवाफ र सांसदहरूले प्रस्तुत गरेका विवरणका आधारमा समितिले निर्णय गर्नेछ। बैठकमा उठाइएका आरोपलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने प्रमाण वा आधिकारिक निष्कर्ष भने प्रस्तुत विवरणमा खुलाइएको छैन।
.gif)

.png)



