म्याकमुलनको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमको दोस्रो जित
काठमाडौं : ब्रान्डन म्याकमुलनको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो ।
चितवनले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा म्याकमुलनले सर्वाधिक ४३ रन बनाए ।
ईशान पाण्डेले २५, शेर्फन रदरफोर्डले अविजित २१ तथा आरिफ शेखले अविजित २० रनको योगदान दिए ।
बलिङमा चितवनका रञ्जित कुमारले तीन विकेट लिए । रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन जोडे । विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर राजाले समान १५ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिँदा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक–एक विकेट लिए ।
यो जितसँगै चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारको नतिजा निकालेको छ । चितवनले भने तीन खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । लुम्बिनीसँगको एक खेल वर्षाका कारण रद्द भएको थियो ।
.gif)

.png)




