रसुवा बाढी : विभिन्न जिल्लाबाट १५७ शव बरामद, ४७ जनाको पहिचान अझै खुल्न सकेन
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट हालसम्म १५७ जनाको शव बरामद भएको छ। नेपाल प्रहरीका अनुसार मृतकमध्ये ४७ जनाको पहिचान अझै खुल्न सकेको छैन।
प्रहरीको विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। पहिचान नखुलेका ४७ शवसमेत गरी मृतकको संख्या १५७ पुगेको हो। सबैभन्दा धेरै शव चितवनबाट भेटिएका छन्। चितवनमा मात्रै १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक तथा पहिचान नखुलेका २८ जनाको शव बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव बरामद भएको छ। नुवाकोटमा ६ महिला र ७ पुरुष, गोरखामा २ महिला, ८ पुरुष, १ बालक तथा पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ। तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव बरामद भएको प्रहरीले जनाएको छ।
रसुवामा भने हालसम्म ३ पुरुषको शव भेटिएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीको विवरणले देखाएको छ।
.gif)

.png)

