मिडिया सोसाइटीको माग– ‘पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर
काठमाडौं । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ।
सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारका विषयमा कुनै कानुनी प्रश्न वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीले जनाएको छ। पत्रकारले प्रकाशित गरेको समाचारप्रति गुनासो वा आपत्ति भए प्रेस काउन्सिल तथा प्रचलित कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने उसको धारणा छ।
नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण त्रसित बनाउने वा स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
सोसाइटीले पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा आफू स्पष्ट रहेको पनि जनाएको छ। तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने उसको भनाइ छ।
सोसाइटीले स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति निरन्तर खबरदारी गर्ने प्रतिबद्धता पनि जनाएको छ।
पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको जनाएको छ। त्यसपछि प्रहरीले बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो।
श्रेष्ठको पक्राउ र जनआस्था कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघले पनि विरोध गरेको छ। महासंघको अगुवाइमा पत्रकारहरूले काठमाडौं जिल्ला प्रहरी परिसरअगाडि प्रदर्शन तथा धर्ना दिँदै श्रेष्ठलाई विनासर्त रिहा गर्न माग गरेका छन्।

.gif)

.png)

