सञ्चारमाध्यमको गेटअगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद : नेपाल पत्रकार महासंघ

प्रहरीको मौनताप्रति गम्भीर आशंका


२०८३ असार २९ सोमबार १६:४० बजे

काठमाडौँ : नेपाल पत्रकार महासंघले काठमाडौँका विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी पार्क गरी गरिएको अवरोधमा राज्यकै भूमिका शंकास्पद रहेको निष्कर्ष निकालेको छ।

महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडा सम्मिलित टोलीले स्थलगत अध्ययनपछि यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।

महासंघको टोलीले तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँबानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा बिहान ७ बजेदेखि राखिएका गाडीहरू दिउँसो २ बजेसम्म नहटाइनु र यस अवधिमा प्रहरी मुकदर्शक भएर बस्नुले राज्यकै संलग्नतामा यो आतंक सिर्जना गरिएको आशंका बढाएको जनाएको छ।

'आज (सोमबार) बिहानैदेखि काठमाडौंका केही सञ्चारगृहको गेटअगाडि पत्रकार र पत्रकारका सवारीसाधन अवरोध गर्ने उद्देश्यले शंकास्पद रूपमा गाडी राखिएको घटनाको नेपाल पत्रकार महासंघले स्थलगत अध्ययन गरेको छ,' महासंघले भनेको छ, 'अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडाको टोलीले गरेको अधययनबाट आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद रूपमा छोडिएको गाडी दिउँसो २ बजेसम्म पनि राज्यले हटाउन पहल नगरेको तथा प्रहरी मुकदर्शक भएर बसेको अवस्थाले राज्यकै संलग्नतामा यो आतंक सिर्जना गरिएको आशंका उत्पन्न भएको छ ।'

महासंघले यस घटनालाई 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको भौतिक हमला' को संज्ञा दिँदै कडा भर्त्सना गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'राज्यले मिडियामाथि नियन्त्रण कायम गर्ने र मुख थुन्ने प्रयास गरेको छ।'

महासंघले सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न र यो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग जोडदार माग गरेको छ। सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षाका लागि महासंघले सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको पनि जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७