सञ्चारगृह अगाडि राखिएका गाडीको पहिचान खुल्यो: एउटा बैंक र दुईवटा व्यक्तिगत स्वामित्वमा
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुरको गेटमा शंकास्पद गाडी पार्किङ
काठमाडौँ : काठमाडौँका विभिन्न सञ्चारगृहको मुख्य प्रवेशद्वारमा बेवारिसे सवारीसाधन तेर्स्याएर आतंक सिर्जना गर्ने घटनामा गाडी धनीको पहिचान खुलेको छ। सोमबार बिहानै कान्तिपुर पब्लिकेसन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो छेकिने गरी राखिएका गाडीहरू यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बैंक र व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार कान्तिपुर पब्लिकेसनको गेट अगाडि राखिएको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा दर्ता छ। त्यसैगरी, अनलाइन खबरको कार्यालय अगाडिको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा र हिमालय टेलिभिजनको कार्यालय अगाडिको बा. १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा रहेको खुलेको छ।
बिहान ७ बजेदेखि नै गाडीहरू यसरी पार्किङ गरिएका थिए कि जसले सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीहरूलाई आफ्ना सवारीसाधन समेत कार्यालय हाताभित्र लैजान बाधा पुगेको थियो। यस कार्यलाई नियोजित र रहस्यमय रूपमा लिँदै सञ्चार क्षेत्रमा त्रास फैलाउने उद्देश्यले गरिएको गतिविधि भनी आलोचना भइरहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले तत्काल घटनास्थलमा पुगेर क्रेनको सहयोगमा ती सवारीसाधनहरूलाई हटाई सडक खुलाएको छ। जिल्ला प्रहरी परिसरले गाडी धनीहरूको पहिचान भएसँगै ती सवारीसाधन कसले र किन उक्त स्थानमा ल्याएर राखेको हो भन्ने विषयमा गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ।
यसअघि नै नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै सञ्चारगृह र पत्रकारको अधिकारमाथि गरिएको यस प्रकारको अवरोध निन्दनीय रहेको भन्दै संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिसकेको छ।
.gif)

.png)

