मिडिया हाउसको गेटमा गाडी राखेर आतंकित पार्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग
काठमाडौँ : काठमाडौँका विभिन्न स्थापित सञ्चारगृह (मिडिया हाउस) हरूको मुख्य प्रवेशद्वारमा बेवारिसे गाडीहरू राखेर भय र आतंकको वातावरण सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले यस कार्यलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा बेवारिसे कारहरू पार्क गरिएका थिए। गाडीहरू यसरी राखिएका थिए कि जसका कारण सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुन पुगेको थियो।
यस घटनाका सम्बन्धमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने यो हर्कत अत्यन्तै निन्दनीय र रहस्यमय भएको उल्लेख गरेका छन्। महासंघले यस्ता गतिविधिले श्रमजीवी पत्रकारहरूमा त्रास सिर्जना गर्ने खोजेको भन्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन सरकारसँग जोडदार माग गरेको छ। 'सञ्चारगृहको सुरक्षामाथि चुनौती थप्ने र पत्रकारलाई भयभित पार्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि स्वीकार्य हुन सक्दैनन्। सरकारले तत्काल यसको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,' विज्ञप्तिमा भनिएको छ।
महासंघले सञ्चारगृह र सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न तथा गेटमा रहेका अवरोधक गाडीहरू तत्काल हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको समेत जनाएको छ। लोकतन्त्र र स्वतन्त्र प्रेसको मर्ममाथि प्रहार गर्ने यस्ता तत्वहरूलाई कानुनी कठघरामा उभ्याउन महासंघले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ।

.gif)

.png)

