२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्तीलाई फेरि बेहोस बनाएर दाह्रा काटिने


२०८३ असार २४ बुधबार १२:१६ बजे
फाइल तस्बिर

चितवन । २५ जनाको ज्यान लिएको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर फेरि दाह्रा काट्ने तयारी गरिएको छ। दुई वर्षअघि पनि यसको दाह्रा छोट्याइएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेलाई बेहोस बनाएर नयाँ रेडियो कलर जडान गरिने र दाह्रा पुनः छोट्याइने तयारी भइरहेको छ। यसअघि जडान गरिएको रेडियो कलर प्रभावकारी नभएकाले नयाँ उपकरण प्रयोग गर्न लागिएको हो।

निकुञ्ज प्रशासनका अनुसार गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। यससँगै ध्रुवेको आक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

घटनापछि ध्रुवेको निरन्तर निगरानी भइरहेको छ। सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वन क्षेत्रमा पुगेको ध्रुवेले वनको गेट भत्काएर स्थानीय दुई घरमा राखिएको अन्नसमेत खाएको निकुञ्जले जनाएको छ।

प्रमुख संरक्षण अधिकृत पुनका अनुसार ध्रुवे भेटिनेबित्तिकै ‘डार्ट’ मारेर बेहोस बनाइनेछ। त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर जडान गरिनेछ। नयाँ रेडियो कलरमार्फत हात्ती बस्ती नजिक पुगेको सूचना तत्काल प्राप्त हुने भएकाले स्थानीयलाई समयमै सचेत गराउन सहज हुने विश्वास गरिएको छ।

ध्रुवे २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको हात्ती हो। २०६९ सालसम्म आइपुग्दा मात्रै उसले १५ जनाको ज्यान लिइसकेको थियो। त्यसबेला माडी क्षेत्रमा एक महिनाभित्र चार जनाको ज्यान लिएपछि प्रशासनले ध्रुवेलाई मार्ने निर्णयसमेत गरेको थियो। तर पछि निगरानी, रेडियो कलर जडान र दाह्रा काट्ने उपाय अपनाउँदै नियन्त्रणको प्रयास हुँदै आएको छ।

निकुञ्जका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा हाल ४५ देखि ५० वटा जङ्गली हात्ती छन्। रोनाल्डो, गोविन्दे र ध्रुवे त्यहाँका चर्चित भाले हात्ती हुन्। अन्य हात्तीले भने हालसम्म यसरी मानव बस्तीमा आतंक मच्चाएका छैनन्।

यसैबीच, ध्रुवेको आक्रमणका क्रममा आगलागी भएर नष्ट भएको घर पुनर्निर्माणका लागि निकुञ्ज, विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायले आवश्यक तयारी थालेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७