सुकुमवासीको गुनासोपछि बागमती सभ्यता समितिद्वारा म्याद थप
सुकुमवासीलाई घरभाडाको समय अपर्याप्त भएपछि म्याद बढाइयो
काठमाडौं : अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरहरूमा बसोबास गर्दै आएका सुकुमवासीहरूलाई सेन्टर खाली गर्न एक साताको समय थप गरेको छ। यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गरिसक्न निर्देशन दिएको थियो।
समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै घरभाडा व्यवस्थापनका लागि प्राप्त समय अपर्याप्त भएको भनी आएका गुनासोहरूलाई मध्यनजर गर्दै म्याद असार १९ गतेसम्मका लागि बढाइएको जानकारी दिएको छ। सूचनामा भनिएको छ, ‘समितिको पूर्वसूचनाअनुसार ०८३ असार १२ गतेभित्र स्वव्यवस्थापन गर्न भनिएकोमा, घरभाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासोलाई ध्यानमा राखी असार १९ गतेसम्म समयसीमा थप गरिएको छ।’
यसअघि असार ९ गते समितिले सूचना जारी गर्दै १२ गतेभित्र सेन्टर छाड्न निर्देशन दिएको थियो। उक्त निर्देशनपछि सुकुमवासीहरूले आफूहरूलाई जबर्जस्ती ननिकाल्न र दीर्घकालीन व्यवस्थापनको माग गर्दै आन्दोलन गर्दै आएका छन्। आफूहरूलाई होल्डिङ सेन्टरबाट निकालिए पुनः पुरानै स्थानमा गएर बसोबास गर्ने उनीहरूको अडान छ।
गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूको पुनर्स्थापनाका लागि भन्दै प्रतिपरिवार एकमुस्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय कार्यान्वयन गर्ने क्रममा समितिले होल्डिङ सेन्टर खाली गराउने प्रक्रिया अघि बढाएको हो।
.gif)

.png)

