रास्वपा महाधिवेशन: निर्वाचन कार्यतालिका तेस्रोपटक हेरफेर, मतदान बुधबार बिहान
काठमाडौं : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यतालिका फेरि हेरफेर भएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक कार्यतालिका संशोधन भएको सूचना जारी गरेका हुन्।
महाधिवेशनको बन्दसत्रको प्रक्रिया लम्बिएपछि आयोगले राति अबेरसम्मका लागि नयाँ समय सीमा निर्धारण गरेको हो। नयाँ तालिकाअनुसार आज राति ७ बजेदेखि साढे ७ बजेसम्म सभापति पदको फारम वितरण र दर्ताको समय तोकिएको छ।
यस्तै, केन्द्रीय सदस्य पदका आकांक्षीहरूका लागि साढे ७ बजेदेखि साढे ९ बजेसम्म फारम वितरण र दर्ताको समय दिइएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन तालिकामा उल्लेख छ।

तालिकाअनुसार उम्मेदवारविरुद्ध दाबी विरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ भने दाबी विरोधमा परेका उजुरीबारे जाँचबुझ राति ११ बजेसम्म सकिनेछ।
उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम समय राति सवा ११ बजेसम्म निर्धारण गरिएको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन राति पौने १२ बजे हुने निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै आज राति पौने १२ बजेदेखि नै मौन अवधि सुरु हुनेछ। पहिलो चरणअन्तर्गत सभापति र केन्द्रीय सदस्य पदका लागि बुधबार बिहान मतदान हुने भनिए पनि निश्चित समय भने तोकिएको छैन।
पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा मतदान सम्पन्न भएको २ घण्टापछि गरिने सूचनामा उल्लेख छ। दोस्रो चरणको उम्मेदवारी तथा थप निर्वाचन तालिका भने आवश्यकताअनुसार पछि प्रकाशन गरिने आयोगले जनाएको छ।
.gif)

.png)

