राहदानी छपाइ: महानिर्देशक सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी
काठमाडौं, ८ असार : राहदानी (पासपोर्ट) छपाइ तथा प्रणाली खरिद प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहितका सरकारी उच्च अधिकारी, कर्मचारी र दुईवटा विदेशी कम्पनीका प्रतिनिधिसमेत गरी १८ जनालाई प्रतिवादी बनाएको छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लंघन गर्दै निश्चित आपूर्तिकर्तालाई लाभ पुर्याउने उद्देश्यले बोलपत्रका सर्त र मापदण्डहरूमा चलखेल गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।
मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशकहरू शत्रुध्वनप्रसाद शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई र तत्कालीन शाखा अधिकृत सोमेश थापालाई प्रतिवादी बनाइएको छ। यसैगरी, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवहरू राजाराम दाहाल, पुस्करराज नेपाल र भेषप्रसाद भुर्तेलको पनि यस प्रकरणमा संलग्नता देखिएको छ। आयोगले उनीहरूसँग १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।
यस प्रकरणमा जर्मन कम्पनी ‘मुलबाउर आईडी सर्भिसेज जीएमबीएच’ का प्रतिनिधिहरू गेरहार्ड माउरर, पाभ्ले राकिक, मणिन्द्रराज मल्ल र ‘भेरिडोस जीएमबीएच’ का फेबियोला बेलरसिम, फ्लोरियन प्याक्लिन तथा सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको छ।
आयोगले मुलबाउर कम्पनीविरुद्ध १ अर्ब ९० करोड ६९ लाख र भेरिडोस कम्पनीविरुद्ध ८ अर्ब २२ करोड ३५ लाख रुपैयाँ बिगो कायम गरेको छ। सरकारी कर्मचारी र आपूर्तिकर्ताबीचको आपसी मिलेमतोका कारण राज्यकोषलाई अर्बौंको क्षति पुगेको र सार्वजनिक खरिद प्रक्रियाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ।
उल्लेखनीय छ कि, यस प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि पनि प्रश्नहरू उठेका थिए। यद्यपि, हाल उनलाई मुख्य मुद्दामा प्रतिवादी नबनाई छुट्टै अनुसन्धान गर्ने निर्णय अख्तियारले लिएको छ।
यसअघि बयानका लागि उनलाई निवासमै म्याद तामेल गरेर बोलाइए पनि स्वास्थ्य उपचारका लागि विदेशमा रहेका कारण उनी उपस्थित हुन सकेकी थिइनन्। आयोगले उनलाई तत्काल मुद्दा नचलाई थप कागजातहरूको मिसिल खडा गरेर छुट्टै अनुसन्धान गर्ने प्रक्रिया अघि बढाएको छ।
.gif)

.png)

