रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी विजयी


२०८३ जेठ ३० शनिबार १५:४५ बजे

पोखरा :  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन्। पोखरामा आयोजित पार्टीको प्रथमप्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रतिष्पर्धीहरूलाई पराजित गर्दै निवर्तमान महामन्त्रीसमेत रहेका त्रिपाठी सभापतिमा चुनिएका हुन्।

निर्वाचन समितिका संयोजक डा. राम गुरुङका अनुसार शनिबार बिहान सम्पन्न मतगणना परिणाम अनुसार त्रिपाठीले २ सय ३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिष्पर्धी एवं निवर्तमान सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतमले १ सय ८२ मत ल्याए भने अन्य उम्मेदवारहरू माधव कँडेलले ११ र डा. हरि कार्कीले २ मत मात्रै प्राप्त गरे।

रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल खसेको मतको स्पष्ट ५१ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकाले त्रिपाठी पहिलो चरणबाटै निर्वाचित भएका हुन्। अधिवेशनमा कुल ७ सय ८० प्रतिनिधि रहे पनि मतदानमा ४ सय ३७ जनाले मात्रै सहभागिता जनाएका थिए।

यसैगरी, प्रदेश कार्यसमितिको सदस्यतर्फ विभिन्न क्लस्टरसहित ३३ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ५१ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि परेको २८ उम्मेदवारीबाट गण्डकीका १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १–१ जना चयन हुनेछन्। समावेशी प्रदेश सदस्यतर्फ २३ जनाको उम्मेदवारी परेको थियो। ५१ आकांक्षीमध्ये १२ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन समितिका अनुसार क्षेत्रगततर्फ बागलुङ–१ बाट मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध चयन भएका छन्।

त्यस्तै, समावेशी सदस्यतर्फ खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी तथा मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता कोटाबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन्। यसअघि शुक्रबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक भव्य समारोहका बीच अधिवेशनको उद्घाटन गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७