प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति संसद्‌मै आएर सच्याउनुपर्छ: हर्क साम्पाङ

'अरू कसैले स्पष्टीकरण दिएर यो विषय टुङ्गिँदैन, प्रधानमन्त्री आफैँ संसद्मा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्छ'


२०८३ जेठ २५ सोमबार १३:२८ बजे

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भनाइ तत्काल सच्याउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष साम्पाङले राष्ट्रियता र सीमाको सवाल मुलुकको सबैभन्दा संवेदनशील र प्रमुख विषय भएकाले यसमा हेलचेक्र्याइँ गर्न नमिल्ने बताए। 'सीमाको विषय प्रधान विषय हो,' संसद्‌मा बोल्दै साम्पाङले भने, 'प्रधानमन्त्रीज्यूले बोलेको कुरा अविलम्ब सच्याइनुपर्छ।'

प्रधानमन्त्री शाहले यसअघि प्रतिनिधिसभा बैठकको रोष्टमबाट 'नेपालले पनि भारतको जमिन मिचेको' भन्ने खालको विवादित अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। सोही विषयमाथि आफ्नो धारणा राख्दै अध्यक्ष साम्पाङले राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषयमा देशको कार्यकारी प्रमुखले नै गैरजिम्मेवार भनाइ राख्न नहुने तर्क गरे।

आफ्नो सम्बोधनका क्रममा अध्यक्ष साम्पाङले आफूले 'माफी' शब्द प्रयोग नगर्ने भन्दै प्रधानमन्त्रीले माफी माग्नुभन्दा पनि आफ्नो गल्ती महसुस गरेर भनाइ सच्याउनु पर्नेमा जोड दिए। 'अरूले आएर सच्याइदिने भन्ने कुरा पनि सुनिएको छ, तर त्यो कदापि मान्य हुँदैन। अरू कसैले स्पष्टीकरण दिएर यो विषय टुङ्गिँदैन, प्रधानमन्त्री आफैँ संसद्मा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्छ,' साम्पाङले प्रष्ट पारे।

संसद् सुचारु गर्नका लागि सत्तारूढ दल रास्वपाले परराष्ट्रमन्त्री वा अन्य नेतामार्फत जवाफ दिलाउने मध्यमार्गी विकल्प अघि सारिरहेका बेला, श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पनि अन्य प्रतिपक्षी दलहरूझैँ प्रधानमन्त्रीकै प्रत्यक्ष जवाफ र संशोधन अनिवार्य हुनुपर्ने अडान राखेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७