भारतीय विदेश मन्त्रालयले भन्यो : भारत–नेपालबीचको साझेदारीमा नयाँ ऊर्जा
‘भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाल एक प्राथमिकतामा रहेको साझेदार’
नयाँ दिल्ली : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय पछि भारतीय विदेश मन्त्रालयले भारत–नेपालबीचको साझेदारीलाई थप बढाउने प्रयासमा नयाँ ऊर्जा थपिएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकारले कार्यभार सम्हालेयता दुई देशबीच परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भ्रमण थियो । भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाल एक प्राथमिकतामा रहेको साझेदार हो र यस भ्रमणले दुई घनिष्ठ तथा मित्रवत छिमेकीहरुबीच नियमित उच्च–स्तरीय आदानप्रदानको परम्परालाई थप सुदृढ बनाएको छ । यसले दुवै देशका जनताको आकांक्षा पूरा गर्नका लागि द्विपक्षीय साझेदारीलाई थप बढाउने विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै यस उद्देश्यतर्फ हाम्रा प्रयासहरुमा नयाँ ऊर्जा थपेको छ ।’
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणको दोस्रो दिन जेठ २३ गते नयाँ दिल्लीमा दुई देशका मन्त्रीहरूबीच प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय वार्ता सम्पन्न भएको मन्त्रालयले जनाएको छ। उक्त उच्च(स्तरीय वार्ताका क्रममा उनीहरूले विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जनता–जनताबीचको सम्बन्ध लगायत भारत–नेपाल द्विपक्षीय सम्बन्धका समग्र पक्षहरूको विस्तृत समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयहरूमा समेत विचार आदानप्रदान गरेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।
विभिन्न क्षेत्रहरूमा भएका द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै मन्त्रीद्वयले नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवं तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रहरूमा सहकार्य बढाउन चालिएका हालैका पहलहरूको स्वागत गरेका छन् भने भारत–नेपालबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्याउन प्रयासहरूलाई तीव्र पार्ने सहमति समेत बनेको छ।
सुरक्षा र न्यायिक सहकार्यका सन्दर्भमा, आपराधिक मामिलाहरूमा भारत–नेपाल पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनमा ल्याउनका लागि आवश्यक आन्तरिक प्रक्रियाहरू पूरा भएकोमा दुवै मन्त्रीले स्वागत गरेको मन्त्रालयले जनाएको छ। यस सम्झौताले सीमापार अपराधहरूसँग सम्बन्धित अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीको प्रभावकारिता बढाउन एक संस्थागत कानुनी ढाँचा प्रदान गरी दुवै देशका जनतालाई फाइदा पुर्याउने विश्वास भारतीय पक्षले व्यक्त गरेको छ।
द्विपक्षीय वार्ता पश्चात आयोजित एक विशेष कार्यक्रममा भारतका विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्रीलाई सन् २०१५ को ‘भूकम्पपछिको पुनर्निर्माण सहयोग’ अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरू औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। यसका साथै दुई देशबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज र सुरक्षित बनाउने उद्देश्यले मन्त्रीद्वयले संयुक्त रूपमा भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस बीच पियर–टु–पियर आबद्धताको सुरुवात गरेका छन् भने ुभोइस फर्स्टु भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्न डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच भएको समझदारी पत्रमा हस्ताक्षरको मन्त्रीद्वय साक्षी बनेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भारतीय विदेश मन्त्रालयले दुई देशबीचको विशिष्ट र विशेष सम्बन्धलाई प्रतिबिम्बित गर्दै सबै छलफलहरू न्यानो, मैत्रीपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको प्रस्ट पारेको छ। भ्रमणकै क्रममा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको जानकारी मन्त्रालयले दिएको छ। सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकारले कार्यभार सम्हालेयता दुई देशबीच परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो उच्च(स्तरीय भ्रमण हो।
भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाल एक प्राथमिकतामा रहेको साझेदार भएको दोहोर्याउँदै मन्त्रालयले यस भ्रमणले दुई घनिष्ठ तथा मित्रवत छिमेकीहरूबीच नियमित उच्च-स्तरीय आदानप्रदानको परम्परालाई थप सुदृढ बनाएको उल्लेख गरेको छ।
भारतीय विदेश मन्त्रालयको प्रेस विज्ञप्ति :-
नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमण
नेपालका परराष्ट्रमन्त्री महामहिम श्री शिशिर खनालले विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मिति २०८३ जेठ २२ गतेदेखि भारतको औपचारिक भ्रमण सुरु गर्नुभयो ।
२. मन्त्रीहरुले मिति २०८३ जेठ २३ गते नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गर्नुभयो । वहाँहरुले विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जनता–जनताबीचको सम्बन्ध लगायत भारत–नेपाल द्विपक्षीय सम्बन्धका समग्र पक्षहरुको समीक्षा गर्नुभयो । वहाँहरुले आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयहरुमा पनि आफ्ना विचारहरु साटासाट गर्नुभयो ।
३. मन्त्रीद्वयले विभिन्न क्षेत्रहरुमा भएका द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो र नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि एवम् तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रहरुमा सहकार्य बढाउन चालिएका हालैका पहलहरुको स्वागत गर्नुभयो । वहाँहरुले भारत–नेपालबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्याउन प्रयासहरुलाई तीव्र पार्ने सहमति जनाउनुभयो ।
४. दुवै मन्त्रीहरुले आपराधिक मामिलाहरुमा भारत–नेपाल पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनमा ल्याउनका लागि आन्तरिक प्रक्रियाहरु पूरा भएकोमा स्वागत गर्नुभयो । यस सम्झौताले सीमापार अपराधहरुसँग सम्बन्धित अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीको प्रभावकारिता बढाउन एक संस्थागत कानुनी ढाँचा प्रदान गरी भारत र नेपालका जनतालाई फाइदा पुर्याउनेछ ।
५. द्विपक्षीय वार्ता पश्चातः
क) भारतका विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्रीलाई नेपालका लागि भारतको सन् २०१५ को ‘भूकम्पपछिको पुनर्निर्माण सहयोग’ अन्तर्गत सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा साँस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु हस्तान्तरण गर्नुभयो ।
ख) भारत र नेपालबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन मन्त्रीद्वयले संयुक्त रुपमा भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच पियर–टु–पियर (पीटुपी) आबद्धताको सुरुवात गर्नुभयो ।
ग) ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्न डिजिटल इंडिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारी पत्रमा भएको हस्ताक्षरको मन्त्रीद्वय साक्षी बन्नुभयो ।
६. दुई देशबीचको विशिष्ट र विशेष सम्बन्धलाई प्रतिबिम्बित गर्दै छलफलहरु न्यानो, मैत्रीपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भए ।
७. भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभालसँग पनि भेटवार्ता गर्नुभयो ।
८. सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकारले कार्यभार सम्हालेयता दुई देशबीच परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भ्रमण थियो । भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाल एक प्राथमिकतामा रहेको साझेदार हो र यस भ्रमणले दुई घनिष्ठ तथा मित्रवत छिमेकीहरुबीच नियमित उच्च–स्तरीय आदानप्रदानको परम्परालाई थप सुदृढ बनाएको छ । यसले दुवै देशका जनताको आकांक्षा पूरा गर्नका लागि द्विपक्षीय साझेदारीलाई थप बढाउने विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै यस उद्देश्यतर्फ हाम्रा प्रयासहरुमा नयाँ ऊर्जा थपेको छ ।
नयाँ दिल्ली
२०८३ जेठ २३
.gif)

.png)

