सर्वसाधारणलाई ‘म पुलिस हुँ’ भन्दै लुट्ने, समात्न जाँदा प्रहरीमाथि नै खुर्सानी प्रहार

\'इन्काउन्टर\' मा परेका कार्कीको श्रृंखलाबद्ध अपराध: खुर्सानीको धुलो फ्याँकेर लुटपाट, नक्कली प्रहरी बनेर ठगी


२०८३ जेठ १७ आइतबार ०९:३८ बजे

काठमाडौँ :  कानुन कार्यान्वयन गर्ने शपथ खाएर २०६१ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका एक जवान दुई दशकपछि आफैँ सुरक्षा व्यवस्थाका लागि सबैभन्दा ठुलो चुनौती बन्लान् भन्ने अनुमान कसैले गरेको थिएन। बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकालीका ४० वर्षीय गणेश कार्कीको जीवनकथा कानुनको रक्षक कसरी गम्भीर अपराधको ‘सिरियल प्लेयर’ बन्न सक्छ भन्ने एउटा प्रतिनिधि र डरलाग्दो दृष्टान्त हो।

गएराति काठमाडौँको जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जब सन्नाटा चिर्दै प्रहरीको बन्दुक पड्कियो, तब विगत केही महिनादेखि काठमाडौँ उपत्यकामा भय सिर्जना गरिरहेका तिनै पूर्वप्रहरी जवान कार्कीको आपराधिक यात्रामा अल्पविराम लाग्यो। बायाँ खुट्टामा गोली लागेर भुइँमा ढलेका कार्की अहिले ट्रमा सेन्टरको बेडमा प्रहरीको कडा निगरानीमा उपचार गराइरहेका छन्। तर, जडिबुटीको यो ‘इन्काउन्टर’ सम्म आइपुग्न कार्कीले तय गरेको अपराधको फेहरिस्त निकै लामो र संस्थागत प्रकृतिको छ।

२०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका कार्कीको व्यावसायिक निष्ठा लामो समय टिकेन। सेवा प्रवेशको तीन वर्षमै (२०६४ सालमा) उनले जागिर छाडे। जागिर छाडेलगत्तै उनको सम्बन्ध फौजदारी अपराधको दुनियाँसँग जोडियो।

प्रहरी अभिलेखअनुसार जागिर छाडेकै वर्ष (२०६४ मंसिर ९ गते) उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहारको मुद्दा दर्ता भयो। त्यसको महिना दिन नपुग्दै पुस ८ गते हातहतियार तथा खरखजाना मुद्दामा उनी बालाजु प्रहरी वृत्तबाट पक्राउ परे।

अपराधको यो शृङ्खला २०६८ साल वैशाख २ गते आइपुग्दा ‘कर्तव्य ज्यान’ जस्तो जघन्य कसुरमा परिणत भयो। बौद्ध क्षेत्रमा उमेश सिंह नामका व्यक्तिको हत्या अभियोगमा अदालतले उनलाई दोषी ठहर गर्‍यो। कार्कीले जीवनका ऊर्जावान् १० वर्ष (२०६८ असार २० देखि २०७८ असोज ३ गतेसम्म) कारागारको चार पर्खालभित्र सजाय भुक्तान गरेर बिताए।

सुधार गृहको रूपमा हेरिने कारागारको १० वर्षे बसाइले पनि उनलाई कानुनको मार्गमा फर्काउन सकेन। जेलबाट छुटेको वर्ष दिन नपुग्दै २०७८ फागुन ३ गते ललितपुरमा चोरी र फागुन २६ गते प्रहरी वृत्त गौशालामा डाँकाचोरी मुद्दामा उनी पुनः समातिए। अदालतले उनलाई डाँकाचोरीको कसुरमा ६ वर्षको कैद सजाय सुनाएपछि उनको नयाँ ठेगाना बन्यो– केन्द्रीय कारागार, सुन्धारा।

कार्कीको आपराधिक इतिहासमा सबैभन्दा गम्भीर र सनसनीपूर्ण मोड गत वर्ष भदौ २४ गते आयो। केन्द्रीय कारागारभित्र कैदीबन्दीहरूको ‘जेनजी आन्दोलन’ चर्किएको थियो। त्यही भिडभाड, आक्रोश र सुरक्षा संयन्त्रको ध्यान मोडिएको संवेदनशिल घडीको फाइदा उठाउँदै कार्की केन्द्रीय कारागारको उच्च सुरक्षा घेरा तोडेर फरार भए।

‘जेल ब्रेक’ गरेर भागेपछि उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा परे। कारागारबाट भागेका कैदीलाई पुनः नियन्त्रणमा लिनु प्रहरीका लागि प्रतिष्ठाको विषय थियो भने कार्कीका लागि काठमाडौँ उपत्यका पुनः अपराधको खुला मैदान बन्यो। 

अपराधको नयाँ शैली: ‘म पुलिस हुँ’ र खुर्सानी अस्त्र

कारागारबाट फरार भएपछि कार्कीले एउटा विशिष्ट ‘मोडस अपरेन्डी’ (अपराध गर्ने शैली) विकास गरे। उनी आफ्नो खल्तीमा सधैँ खुर्सानीको धुलो बोकेर हिँड्थे र आफ्नो पूर्वप्रहरीको पहिचानलाई हतियार बनाउँथे।

केही महिनाअघि कपन क्षेत्रमा उनी आफ्नी महिला साथीलाई भेट्न गएका थिए। विशेष सूचनाका आधारमा सादा पोसाकका प्रहरी उनलाई समात्न घेराबन्दी गर्दै अघि बढे। तर, प्रहरीले नियन्त्रणमा लिनुअगावै कार्कीले खल्तीबाट खुर्सानीको धुलो निकालेर सिधै प्रहरीकै आँखामा छर्किदिए र सुरक्षाकर्मीहरू सम्हालिन नपाउँदै उनी फेरि उम्किन सफल भए।

जागिर छाडे पनि उनले प्रहरीको मनोविज्ञान र कार्यशैलीलाई राम्रोसँग बुझेका थिए। पशुपति, तिलगंगा, जोरपाटी र विमानस्थल आसपासका क्षेत्रमा उनी ‘सादा पोसाकको प्रहरी’ बनेर हिँड्थे। विशेष गरी राति र बिहानको समयमा लागुऔषध प्रयोगकर्ता र वैदेशिक रोजगारीमा जान लागेका सोझा साझा यात्रुहरूलाई "म पुलिस हुँ, चेकिङ गर्नुपर्छ" भन्दै धम्क्याएर नगद र मोबाइल लुट्नु उनको दैनिकजसोको धन्दा बनेको थियो।

  • २०८२ असोज ७: गौशालाको एक बिजुली पसलमा चोरी तथा लुटपाट।

  • २०८२ माघ ११: पिङ्लास्थानमा विदेश जान लागेका यात्रुबाट नगद र मोबाइल डकैती।

  • २०८२ फागुन: तिलगंगामा आफूलाई प्रहरी अधिकारी चिनाउँदै लागुऔषध प्रयोगकर्ताबाट रकम असुली।

  • २०८२ चैत: शान्तिनगरमा गुल्लु खानको मोबाइल लुटपाट।

  • सुन्दरीजल क्षेत्र: स्कुटर चोरी गरी कलंकीमा बेवारिसे छाडेको पुष्टि।

अपराधको यो सिलसिला शनिबार दिउँसो साढे १ बजे काठमाडौँ-४ सुकेधारामा आइपुगेर ठोक्कियो। कार्कीले त्यहाँ शशिकला मानन्धरको अनुहारमा खुर्सानीको धुलो फ्याँकेर उनको सुनको सिक्री र मोबाइल लुटे। उनका सहयोगी इलामका विष्णु खड्का दिउँसै समातिए पनि मुख्य योजनाकार कार्की फेरि फरार थिए।

तर, यसपटक प्रहरीको रणनीतिक योजना बलियो थियो। सीआईबी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले उनलाई शनिबार राति जडिबुटी क्षेत्रमा घेराबन्दी गर्‍यो। उम्किने ठाउँ नभएपछि कार्कीले फेरि त्यही पुरानो ‘खुर्सानी अस्त्र’ प्रहार गर्दै प्रहरीमाथि नै भौतिक आक्रमणको प्रयास गरे। प्रहरीले चेतावनी दिँदा पनि आत्मसमर्पण नगरेपछि आत्मरक्षार्थ र अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भयो।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७