सम्पादक किशोर श्रेष्ठमाथि गरिएको निगरानी र धम्कीप्रति महासंघको आपत्ति


२०८३ जेठ १२ मंगलबार ०८:३१ बजे

काठमाडौं : नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिक र जनआस्था डटकमका प्रधान सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी बढाएको, धरपकडको प्रयास गरेको र विभिन्न व्यक्तिहरूबाट धम्की दिइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

महासंघ काठमाडौँ शाखाका अनुसार केही दिनअघि उक्त सञ्चार माध्यममा मन्त्री र सत्ताधारी दलका नेताहरूका बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठले यस किसिमको प्रतिशोधपूर्ण व्यवहार झेल्नुपरेको हो। पत्रकार श्रेष्ठले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको सीधा निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने र समाचारको मुख्य स्रोत खोल्नका लागि दबाब दिने जस्ता गतिविधिहरू बढिरहेको जानकारी महासंघलाई गराएका छन्।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै सीधा प्रहार भएको उल्लेख गर्दै यसको कडा शब्दमा निन्दा गरिएको छ। महासंघले प्रेस विरोधी यस्ता गतिविधिहरू तत्काल सच्याउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ। 

साथै, समाचारप्रति कुनै पनि किसिमको विमति वा चित्त नबुझेको खण्डमा कानुनी र स्थापित प्रक्रिया अनुसार प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न आग्रह गर्दै पत्रकार श्रेष्ठलाई धम्की दिने व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ। भनेको छ, ‘महासंघ प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षसंग माग गर्दछ ।  साथै पत्रकार श्रेष्ठलाई  धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।’ 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७