त्रिवि मैदानमा आज नेपाल र अमेरिका भिड्दै
अघिल्लो हारको बदला लिँदै शीर्ष स्थान जोगाउने दाउमा अमेरिका
काठमाडौँः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को निकै रोमाञ्चक र महत्त्वपूर्ण खेलमा आज घरेलु टोली नेपालले बलियो प्रतिस्पर्धी अमेरिकाको सामना गर्दैछ। सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट यात्रालाई सहज बनाउन दुवै टोलीका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो भिडन्त निकै निर्णायक मानिएको छ। खेल नेपाली समयअनुसार बिहान ९:३० बजेदेखि सुरु हुनेछ।
लिग–२ को नियम अनुसार प्रतियोगिताको अन्त्यमा अङ्क तालिकाको शीर्ष चार स्थानभित्र पर्ने टोलीहरूले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान सुरक्षित गर्नेछन्। बाँकी रहने टोलीहरूले भने प्ले–अफको कठिन र घुमाउरो बाटो तय गर्नुपर्ने भएकाले पनि दुवै टोली आज स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन्।
तालिकाको शीर्ष स्थान भर्सेस घरेलु मैदानको कमब्याक
अहिले उत्कृष्ट लयमा देखिएको अमेरिकी टोली अङ्क तालिकाको शीर्ष स्थानमा राज गरिरहेको छ। अर्कोतर्फ, सुरुवाती विदेशी शृङ्खलाहरूमा निकै सङ्घर्ष गरेको नेपाली टोलीले भने घरेलु मैदानमा सानदार पुनरागमन गर्दै आफूलाई तालिकाको पाँचौँ स्थानमा उकाल्न सफल भएको छ।
आज मैदानमा उत्रँदा नेपाल र अमेरिका दुवै टोलीको मनोबल उच्च हुनेछ। किनकि, दुवै टोलीले आफ्नो पछिल्लो खेलमा स्कटल्यान्डमाथि ६ विकेटको समान अन्तरले सानदार जित दर्ता गरेका थिए।
पछिल्ला खेलहरूको लेखाजोखा
-
नेपाल भर्सेस स्कटल्यान्ड (मे १८): ललित राजवंशीको ४ विकेट र सन्दीप लामिछानेको ३ विकेटको घातक बलिङसामु स्कटल्यान्ड १९४ रनमै समेटिएको थियो। उक्त लक्ष्यलाई नेपालले कप्तान रोहित पौडेलको अविजित ७४ रनको कप्तानी इनिङ्सको मद्दतले ३९ ओभरमै सहजै पूरा गर्यो।
-
अमेरिका भर्सेस स्कटल्यान्ड (मे २०): सौरभ नेत्रभाल्करको कडा बलिङ (३/१९) सामु स्कटल्यान्ड १६९ रनमा रोकिएको थियो। अमेरिकाले उक्त सामान्य लक्ष्य मात्र २८ ओभरमा भेट्टायो।
-
नेपाल भर्सेस अमेरिका (मे १६): यी दुई टोलीबीच मे १६ मा भएको पहिलो भेटमा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले स्तब्ध पारेको थियो। दीपेन्द्रसिंह ऐरीको ४ विकेटको मद्दतले अमेरिकालाई १९५ रनमा रोकेको नेपालका लागि कुशल भुर्तेलले अविजित १२० रनको सानदार शतक र आसिफ शेखले ५८ रन बनाएका थिए। उनीहरूबीच पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी भएको थियो।
हेड-टु-हेड: इतिहास कसको पक्षमा?
नेपाल र अमेरिकाबीच हालसम्म खेलिएका १२ एकदिवसीय खेलहरूको तथ्याङ्क हेर्दा अमेरिकी टोली थोरै अगाडि देखिन्छ। अमेरिकाले ६ खेलमा जित हात पारेको छ भने नेपालले ५ खेल आफ्नो पोल्टामा पारेको छ। यी दुई टोलीबीचको एक खेल भने बराबरीमा सकिएको थियो।
आज घरेलु दर्शकको अभूतपूर्व साथ पाएको नेपाल अमेरिकालाई हराएर ऐतिहासिक जितको अन्तर (६–६) बराबरी गर्न चाहन्छ। उता, अमेरिका भने नेपालसँग केही दिनअघि बेहोरेको लज्जास्पद हारको बदला लिँदै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाउने रणनीतिसहित मैदान छिर्नेछ।
.gif)

.png)

