अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित

कुशल भुर्तेलको विष्फोटक शतक


२०८३ जेठ २ शनिबार १५:३९ बजे

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ मा संयुक्त राज्य अमेरिका (यूएसए) माथि ९ विकेटको विष्फोटक जित दर्ता गरेको छ। त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग दुई रनको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भने लय समात्दै अमेरिकालाई निरिह तुल्यायो। यता पराजयको शृंखला रोक्न नसकेको अमेरिकाको भने यो लगातार दोस्रो हार हो; ऊ पनि पहिलो खेलमा स्कटल्यान्डसँग समान दुई रनकै अन्तरले पराजित भएको थियो।

शनिबार त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको मध्यम चुनौतीलाई नेपालले खेल सकिन झन्डै १३ ओभर बाँकी छँदै मात्र १ विकेटको क्षतिमा सहजै पन्छाायो। नेपाललाई यो एकपक्षीय जित दिलाउने क्रममा प्रारम्भिक ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले विपक्षी बलरहरूलाई पूर्ण रूपमा दबाबमा राखे। ओपनिङ जोडीले पहिलो विकेटका लागि १४५ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालको जितको बाटो निकै सहज बनेको थियो। यो साझेदारी नेपालको ओडीआई इतिहासकै दोस्रो ठूलो ओपनिङ साझेदारी समेत हो।

नेपाली इनिङका मुख्य नायक बनेका कुशल भुर्तेलले बेन्चमा बस्नु परेको पीडालाई मैदानमा रनको वर्षा गरेर बिर्साइदिए। उनले मात्र ११८ बलमा १३ चौका र ६ छक्काको मद्दतले १२० रनको अविजित र आक्रामक पाली खेले। यसै क्रममा १०४ बलमा आफ्नो खेल जीवनको दोस्रो ओडीआई शतक पूरा गरेका कुशलको यो व्यक्तिगत करियरकै सर्वोत्कृष्ट ब्याटिङ प्रदर्शन हो। यसअघि उनले सन् २०२३ मा नामिबियाविरुद्ध ११५ रनको इनिङ खेलेका थिए।

कुशललाई अर्का ओपनर आशिफ शेखले परिपक्व ब्याटिङ गर्दै बलियो साथ दिएका थिए। आशिफले ७२ बलमा ७ चौका प्रहार गर्दै ५८ रनको अर्धशतकीय योगदान दिए। उनी मोहम्मद मोहसिनको बलमा क्याच आउट भएपछि क्रिजमा आएका डेब्युट्यान्ट इशान पाण्डेले पनि धैर्यतापूर्वक ब्याटिङ गरे। आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेका इशान ३० बलमा २० रन बनाउँदै कुशलसँगै अविजित रहे।

यो सानदार जितसँगै नेपालले शृंखलामा पहिलो अंक जोड्दै सुखद सुरुवात गरेको छ। अब नेपाली टोलीले आगामी सोमबार स्कटल्यान्डविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ भने आउँदो शुक्रबार यो शृंखलाको अन्तिम खेलमा पुनः अमेरिकाको सामना गर्ने तालिका छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७