इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य

तेहरान आफ्नो अडानमा टसमस नभएपछि वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने गरी ट्रम्पले गरे युद्धविराम


२०८३ बैशाख ९ बुधबार ०९:१९ बजे

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो। युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्चितकालका लागि बढाइएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमार्फत गरेका हुन्।

ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन् । यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा रहेको थियो ।  ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’

यसअघि ट्रम्पले युद्धविराम अवधि नबढाउने बताएका थिए। १४ दिनको युद्धविराम समयभित्रै दीर्घकालीन सम्झौता हुनुपर्ने, त्यसो नभए इरानको ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्ने चेतावनी उनले दिएका थिए। 

पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लम्ब्याउने निर्णयका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै इस्लामाबादले द्वन्द्व समाधानका लागि कूटनीतिक पहल जारी राख्ने बताएका छन् । ‘मलाई पूर्ण आशा छ कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र द्वन्द्वको स्थायी अन्त्यका लागि इस्लामाबादमा तय गरिएको दोस्रो चरणको वार्तामा एक विस्तृत शान्ति सम्झौता गर्न सफल हुनेछन्,’ सरिफले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । सरिफले द्वन्द्वको वार्ताद्वारा समाधान खोज्न आफ्नो सरकारले गम्भीर प्रयास जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारी मारिएका छन् ।तर त्यसका बाबजुद तेहरानको सत्ता संरचनामा ठूलो विभाजन देखिएको छैन, जहाँ इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले युद्धको नेतृत्व गरिरहेको छ । खामेनीको स्थानमा उनका छोरा मोज्तबा खामेनी आएका छन्, जसले गत महिना नियुक्त भएदेखि सार्वजनिक रूपमा उपस्थिति जनाएका छैनन् ।

तेहरानस्थित अल जजीराका संवाददाता अली हाशेमका अनुसार ट्रम्पले तेहरानको नेतृत्व विभाजित अवस्थामा रहेकाले वार्तामा सहमति जुट्न नसकेको भन्दै आए पनि ‘नेतृत्व विभाजन’ सम्बन्धी ट्रम्पको दाबी ‘गलत बुझाइ’ हुनसक्ने बताएका छन् । सम्वाददाता हाशेमले भनेका छन्, ‘पूर्व सर्वोच्च नेता खामेनीको हत्या पछि इरानमा नेतृत्व निकै एकीकृत छ । नयाँ नेता मोज्तबा खामेनी र उनको समूह पछिल्लो १५ वर्षदेखि सँगै काम गरिरहेको टोली हो र अहिले निर्णय केन्द्रमा पनि यही समूह सक्रिय छ ।’

अप्रिल ८ मा इरान र अमेरिकाबीच दुई साता लामो प्रारम्भिक युद्धविराम भएको थियो, तर लेबनानको समावेश र स्ट्रटे अफ होर्मुजको नियन्त्रण जस्ता विषयमा मतभेदका कारण तनाव कायम छ । युद्ध अन्त्य गर्न अमेरिका इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्न, क्षेप्यास्त्र उत्पादन सीमित गर्न र हेज्बोल्लाह तथा हमासजस्ता क्षेत्रीय सहयोगीलाई दिएको समर्थन रोक्नुपर्ने अडानमा छ ।

तर तेहरानले शान्तिपूर्ण प्रयोजनका लागि घरेलु रूपमा युरेनियम समृद्धि गर्ने आफ्नो अधिकारमा अडान लिएको छ । साथै सैन्य क्षमता वा क्षेत्रीय सम्बन्धलाई सम्झौताको हिस्सा बनाउने प्रस्ताव पनि अस्वीकार गरेको छ । अर्को विवादित विषय इरानसँग रहेको उच्चस्तरीय समृद्ध युरेनियमको भण्डारण हो । ट्रम्पले इरानले बम आक्रमणमा ध्वस्त स्थलबाट आणविक सामग्री हटाउन सहमति जनाएको दाबी गरेका छन् । तर इरानले यस्तो सामग्री देशबाहिर लैजान नदिने स्पष्ट पारेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७