सञ्चार मन्त्रालयले ल्यायो ९ बुँदे आचारसंहिता
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्मचारीका लागि ९ बुँदे आचारसंहिता र प्रतिबद्धतापत्र जारी गरेको छ ।
मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण, नियम र जिम्मेवारी स्पष्ट पार्दै उक्त आचारसंहिता लागू गरिएको हो ।
आचारसंहितामा कर्मचारीहरूले नेपालको संविधान तथा प्रचलित कानुनअनुसार तोकिएका आचरण र व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
'कर्मचारीहरू नेपाल सरकारबाट निर्धारित समयमा नियमित रूपमा कार्यालयमा हाजिर हुनुपर्ने र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई अनुपस्थित हुन नहुने,' आचारसंहितामा भनिएको छ ।
कार्यालय समयमा निर्धारित पोशाक लगाउनुपर्ने र परिचयपत्र सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
'प्रत्येक कर्मचारीले आफ्नो डेस्क वा सिस्टममा आएका कामहरू सकेसम्म सोही दिन वा सोको भोलिपल्टसम्ममा सम्पन्न गरिसक्ने । कुनै द्विविधा वा विलम्ब हुने भएमा सम्बन्धित सुपरीवेक्षकलाई समयमै जानकारी गराउनुपर्ने,' आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ ।
यसै गरी कुनै कामको सुरुवात गर्ने कर्मचारीले त्यसको ट्र्याकिङ तथा फलोअप गरी सुपरीवेक्षकलाई जानकारी गराउनुपर्ने उल्लेख छ। कर्मचारीहरूले आफूलाई तोकिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
'सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने,' आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ ।
त्यसैगरी कार्यालय परिसर र कार्यकक्ष सफा राख्ने, स्रोतसाधनको मितव्ययी तथा प्रभावकारी प्रयोग गर्ने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ ।
.gif)

.png)

