‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ?’
काठमाडौं : हामी नेपाल संस्थाका संयोजक तथा जनेजी आन्दोलनका अगुवा सुदन गुरुङले डा. निकोलस भुसाल पक्राउ परेकोमा आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा महेश बस्नेत र निकोलसको अभिव्यक्तिमा के फरक पाउनुभयो भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न पनि गरेका छन् ।
एमाले नेता बस्नेतलाई छाडेर निकोलस भुसाललाई मात्र पक्राउ गरेको भन्दै गुरुङले असन्तुष्टि पोखेका हुन्।
अभियन्ता भावना राउतको फेसबुक स्टाटस शेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’
प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका निकोलश भुसाललाई मंगलबार प्रहरीले गोरखाबाट पक्राउ गरेको थियो ।
सार्वजनिक शान्तिमा खलबल्याउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका उनी हाल प्रहरी हिरासतमा छन् ।
अर्घाखाँची मालारानी–२ का ३२ वर्षीय भुसालले मानिसहरूलाई भड्काउने, उक्साउने, अफवाह फैलाउने, सार्वजनिक शान्तिमा खलल पुर्याउने गरेको प्रहरीको आरोप छ ।
भुसालविरुद्ध यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पनि मुद्दा दर्ता भएको थियो।
.gif)

.png)

