महिलाहरू पनि नेतृत्व गर्न सक्षम छन् भनी प्रमाणित गर्ने बेला आएको छ : विद्यादेवी भण्डारी

पर्सा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू पनि नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गर्ने बेला आएको बताएकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा आज (शनिबार) वीरगञ्जमा आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक वृहत महिला सम्मेलन–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।
‘समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त भएको छैन,’ उनले भनिन्, ‘त्यसैले अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन पूर्ण रूपमा सक्षम छन् भन्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।’
महिला शक्ति केवल परिवर्तनको हिस्सा मात्र नभई सम्पूर्ण समाजको प्रगतिको आधार रहेको बताउँदै उनले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपंक्तिमा रहँदै आएको बताइन् ।
वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु भनेको केवल व्यक्तिगत सफलता नभई देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि भएको उनले बताइन् ।
महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहनको खाँचो रहेको औंल्याउँदै भण्डारीले महिलाहरू आगामी पुस्तालाई प्रेरणा दिने गरी अघि बढ्नुपर्ने बताइन् । समाजमा अझै विद्यमान लैङ्गिक असमानता, पूर्वाग्रह र अवरोध तोड्नुपर्ने उल्लेख गर्दै उनले यसका लागि महिलाले आफै सकारात्मक ढंगले आत्मविश्वासी बन्नु र समाजलाई चुनौती दिँदै परिवर्तनको नेतृत्व लिनुपर्ने धारणा राखिन् ।
महिला शक्ति, त्याग र समर्पणलाई संस्थागत रूपमा सम्मान गर्न सके मात्र समानता, दिगो विकास र समृद्ध नेपालको सपना पूरा गर्न सकिने उनको भनाइ थियो । नेपाल प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधतामा सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै भण्डारीले यी स्रोत र साधनको दिगो र विवेकपूर्ण उपयोगबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अवसर हामीसँग रहेको बताइन् ।
बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापनको नीति अपनाएर स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उनले कृषिमा आधारित उद्योग, जडीबुटी र आयुर्वेदिक उत्पादन, साना तथा मध्यम उद्योग, पर्यटन, ऊर्जा र सूचना प्रविधि जस्ता तुलनात्मक लाभ भएका क्षेत्रमा उद्योग र उद्यमशीलताको विकासमा ध्यान दिनुपर्ने बताइन्। यसले अर्थतन्त्रमा स्थायित्व ल्याउनुका साथै नागरिकलाई रोजगारीको अवसर दिलाउने उनको भनाइ थियो ।
वीरगञ्जले मुलुकको आर्थिक विकासमा निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै उनले वीरगञ्ज–पथलैया औद्योगिक करिडोर, सिमरा विशेष आर्थिक क्षेत्र र सिर्सिया सुक्खा बन्दरगाहको व्यवस्थित सञ्चालनले यस क्षेत्रलाई उद्योग–व्यापारको सशक्त केन्द्र बनाउन सक्ने धारणा राखिन् ।
बारा जिल्लाको कृषि सम्भावनाबारे बोल्दै उनले माछा पालन, केरा, तरकारी, उखु खेती र अन्नबाली उत्पादनमा यसको अग्रणी भूमिका रहेको बताइन्। त्यस्तै, सिम्रौनगढ, गढीमाई मन्दिर र पर्सा राष्ट्रिय निकुञ्जले पर्यटन प्रवर्द्धनमा योगदान दिन सक्ने उल्लेख गरिन् । यी सबै क्षेत्रको समुन्नत विकासबाट बारा–पर्सालाई उद्योग, कृषि र पर्यटन विकासको नमुना जिल्लाका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।
चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारण तराई–मधेशमा बाढी, डुबान, जमिन कटान र मरुभूमिकरण बढेको बताउँदै उनले यसले उर्वर जमिन नष्ट हुनुका साथै भूमिगत पानीको स्तर घटाइरहेको प्रष्ट पारिन्। यसले कृषि, खानेपानी र जनजीवनलाई गम्भीर असर पु¥याइरहेको उनको भनाइ थियो ।
उखु किसानले उत्पादनको उचित मूल्य नपाउने र बक्यौता भुक्तानीमा ढिलाइ हुने समस्याले कृषिप्रति किसानको लगाव घट्ने र कृषिमा आधारित उद्योगसमेत प्रभावित हुने उनको धारणा थियो ।
तराई–मधेशमा मिटरव्याजी साहुका अमानवीय गतिविधिका कारण ऋणीहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै उनले यसको समाधानका लागि सरकारले कडाइका साथ नियमन गर्नुपर्ने, उजुरी प्रक्रिया सहज बनाउनुपर्ने, ऋण–लेनदेन प्रक्रिया पारदर्शी बनाउनुपर्ने र विपन्न परिवारलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने बताइन् ।
पछिल्ला वर्षमा सहकारी क्षेत्रमा उच्च ब्याजको प्रलोभन देखाएर असुरक्षित लगानी गराउने कार्यले हजारौँ सदस्यले आफ्नो मिहिनेतको कमाइ गुमाएको उल्लेख गर्दै उनले यस समस्याको समाधानका लागि पारदर्शिता, कडाइका साथ नियमन, पीडितलाई क्षतिपूर्ति र संस्थागत पुनर्गठन अपरिहार्य रहेको धारणा राखिन् ।