पार्टी खोल्ने तयारीमा कुलमान : सबै क्षेत्रको समृद्धिकाे ‘उज्यालो मार्गचित्र’ तयार
लोडशेडिङ अन्त्यको श्रेय पाएका कुलमान उज्यालोको बिम्ब बनेका छन् । बत्ती गयो/अध्यारो भयो भने ‘कुलमान अर्थात् उज्यालो’ गयो भन्ने भाष्य स्थापित छ । त्यही उज्यालोको बिम्बमा ‘समृद्धिको उज्यालो मार्गचित्र’ तयार पारेर पार्टी निर्माणको तयारीमा छन् उनी ।

काठमाडौं : नेपाललाई लोडसेडिङमुक्त गराएकाे श्रेय पाएर ‘उज्यालोको नायक’को बिम्ब बनाएका विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नयाँ पार्टी निर्माणको तयारीमा जुटेका छन् । उनी निकट नयाँ पार्टी निर्माणको लाागि मतदाताहरुको मनोविज्ञान बुझ्न ‘उज्यालो नेपाल’ नामक अभियान लिएर यात्रामा निस्किएका घिसिङ देश तथा विदेशमा रहेका नेपालीहरुको सकरात्मक प्रतिक्रियाले उत्साहित भएका छन् ।
‘उज्यालो नेपाल’ नामक अभियान लिएर दौडधुपमा रहेका घिसिङ शनिबार युरोपको यात्रा सकेर नेपाल फर्किए । घिसिङ खाडी राष्ट्रहरुको भ्रमण सकेर अमेरिका, बेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी भए । झन्डै दुईतिहाइको शक्तिशाली सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट पदबाट हटाएपछि घिसिङले ‘उज्यालो नेपाल’ अभियान घोषणा गरेका थिए ।
यही अभियान लिएर शनिबार एक महिने विदेश भ्रमणबाट फर्किएका घिसिङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी निर्माणको संकेत गरे । उनले भने, ‘धेरै सुझाव आएका छन्, पार्टीभित्र होस् वा बाहिर राम्रा व्यक्तिहरू आओस्, डेलिभरी दिन सक्ने टिम बनोस्। व्यक्तिगत रूपमा मात्रै प्रयास गरेर मात्रै हुँदैन। सामूहिक प्रयास हुनुपर्छ भन्ने नै हो। राम्रा व्यक्ति हरेक क्षेत्रमा आउनुपर्छ भन्ने हो। केही गर्छु भन्नेहरू एक भएर देश बनाउने अभियानमा लाग्नुपर्छ।’
उनले बेलायतको कार्यक्रममा पनि राजनीतिमा आउने स्पष्ट संकेत गरेका थिए । उनले नेपालका युवाहरू परिवर्तन चाहने र उनीहरूले परिणाम दिने नेतृत्व खोजिरहेको उल्लेख गरे । उनले भने, ‘यही कारण म उज्यालो नेपाल अभियानमार्फत आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छु ।’
सबै क्षेत्रको समृद्धिकाे ‘उज्यालो मार्गचित्र’ तयार
२०७३ सालको असारबाट प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले यसबाहेक विभिन्न दूरगामी अर्थ राख्ने काम गर्न सफल भए । नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा कुलमान प्राधिकरणको अवस्था नाजुक थियो। दैनिक १२ घण्टासम्म लोडशेडिङको मारमा सर्वसाधारण थिए।
उनले नेतृत्व सम्हालेको केही महिनामै काठमाडौंलाई लोडशेडिङमुक्त बनाउने घोषणा गरे। प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडशेडिङमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले विश्वास गरेनन् । तर उनी सफल भए ।
घिसिङ एउटा राम्रो नीति कार्यान्वयन गर्न सक्ने कुशल व्यवस्थापक मान्छन्। कुनै बेला घाटामा रहेको आठ वर्षमा विद्युत् प्राधिकरण उनको पालामा ८४ अर्ब रुपैयाँ नाफामा पुगेको र चुहावट समेत १४ प्रतिशतले घटेको सरकारी विवरणमा देखिन्छ।
रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो कुलमान उज्यालोको बिम्बको रुपमा स्थापित छन् । अध्यारो हुदा ‘कुलमान अर्थात् उज्यालो गयो’ भन्ने भाष्य स्थापित छ । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए ।
जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो । चिलिमे मोडल बहुचर्चित मोडल हो ।
चिलिमेमा उनले नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोली दिएका थिए । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो ।
स्रोतका अनुसार घिसिङले उर्जा जस्तै सबै क्षेत्रको ‘उज्यालो मार्गचित्र’ तयार पारेका छन् । ‘उहाँले उर्जा क्षेत्रमा जसरी उज्यालो दिनुभयो । ठिक त्यसै गरी मुलुकको समृद्धिको लागि शिक्षा, स्वास्थ्य, पयर्टन, कृषि, उद्योग, सुशासन सबै सबै क्षेत्रको ‘उज्यालो मार्गचित्र’ तयार छ,’ उनी निकट स्रोतले भन्यो, ‘देशलाई कसरी उज्यालो ? बनाउन सकिन्छ, त्यसको बस्तुगत आधार सहित पार्टी निर्माण हुनेछ ।’
‘उज्यालो नेपाल’ अभियान नामक विभिन्न वडा कमिटीहरु पनि धमाधम निर्माण भइरहेको छन् । स्रोतका अनुसार काठमाडौं लगायत मुलुकका विभिन्न शहरमा गरेर चार दर्जन बढी वडा कमिटीहरु निर्माण भएका छन् । अब यस लगत्तै ‘उज्यालो नेपाल’ अभियान को सदस्यता निर्माण अभियान सुरु हुने स्रोतको भनाई छ । देश तथा विदेशमा ‘उज्यालो नेपाल’ अभियानको सदस्यता लिन सार्वजनिक रुपमा अपिल गरिनेछ ।