प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीङसँग आजै भेटवार्ता {तस्वीरहरु}


२०८२ भदौ १४ शनिबार १५:०३ बजे
तस्वीरहरु : दिनेश भण्डारी / प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज (शनिबार) जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् ।

मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् ।

उनलाई चीन सरकारका उच्चाधिकारी र  चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका छन् । 

प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने भएको छ । आजै चीनको तियान्जिन प्रस्थान गरेका प्रधानमन्त्री ओलीको आज साँझ राष्ट्रपति सीसँग करिब २० मिनेट भेटवार्ता हुने भएको हो । 

तियान्जिन गेष्ट हाउसमा हुने भेटवार्तामा राष्ट्रपति सीले ५ः३० देखि ५ः५० सम्म समय उपलब्ध गराएको परराष्ट्र स्रोतहरूले जानकारी दिएका छन् । तियान्जिनमा प्रधानमन्त्री ओलीको बसोबासको प्रबन्ध विमानस्थलबाट करिब आधा घण्टा पर रहेको नदी किनारास्थित होलिडे इन होटलमा गरिएको छ । होटलमा पुगेर केहीबेर आराम गरेपछि ओली राष्ट्रपति सीसँग भेटवार्ताका लागि तियान्जिन गेष्ट हाउसतर्फ लाग्ने जनाइएको छ । 

‘चिनियाँ पक्षले राष्ट्रपति सीसँग भेटवार्ताका लागि २० मिनेटको समय उपलब्ध गराएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अपरान्ह ५ः३० देखि ५ः५० सम्मको अवधि तोकिएको छ । ओली तियान्जिन पुग्नुहुँदासम्म कारणवस समय परिवर्तन भएन भने उहाँले त्यसैअवधिमा राष्ट्रपति सीसँग भेटवार्ता गर्नु हुनेछ ।’ 

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता प्रतिनिधिमण्डलस्तरमा हुनेछ । त्यसक्रममा प्रधानमन्त्री ओलीका साथ अन्य १२ जना नेपाली अधिकारीहरूले सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा हुनेहरूमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना छन् ।  

सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन् । 

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सोमबार (१६ भदौ) मा तियान्जिनमै हुनेछ । भेटवार्तास्थल तियान्जिन मेजियाङ कन्भेन्सन सेन्टर तय भएको जनाइएको छ ।

सोबार साँझ ६ः४५ देखि ७ः१५ सम्म दुई शीर्ष नेताबीच भेटवार्ता हुनेछ । चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बाहेक प्रधानमन्त्री ओलीको तियान्जिनमा अन्य मुलुक– कम्बोडियाका प्रधानमन्त्री र लाओसका राष्ट्राध्यक्षसँग पनि भेटवार्ता हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७