गृहमन्त्री चिकित्सकको टोलीसहित हैजा प्रभावित वीरगञ्ज जाँदै

काठमाडौं । गृहमन्त्री रमेश लेखक सुरक्षा निकायका चिकित्सकको टोलीसहित वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा जाने भएका छन् । गृहमन्त्री लेखक हैजाबाट संक्रमित भएका बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनु पर्ने आवश्यक तयारीको विषयमा आवश्यक छलफल र समन्वय गर्नका लागि शनिबार वीरगञ्ज जान लागेका हुन् ।
पछिल्लो समय वीरगञ्जमा हैजाको संक्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत पत्ता लाग्न भने सकेको छैन । गृह मन्त्रालयको सचिवालयका अनुसार गृहमन्त्री लेखकले आइतबार विहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँगपनि भेटघाटको कार्यक्रम राखेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगञ्जमा आउने कार्यक्रम तय भएको जानकारी दिए । गृहमन्त्रीको सचिवालयले वीरगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीले हैजा प्रभावित क्षेत्रका बिरामीको उपचार लगायतमा सहजीकरण गर्ने जनाएको छ ।
गत भदौं ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियनत्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सकको टोली परिचालन गर्ने निर्णय गरेको थियो ।
सो बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले हैजा प्रभावित क्षेत्रमा तीनै तहका सुरक्षा निकायका स्वास्थ्यकर्मी परिचालन गरिने बताएका थिए ।