युक्रेनबारे ट्रम्प–पुटिनबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेको छ ।
एंकोरेज सहरमा तीन घण्टासम्म चलेको वार्ता युक्रेन युद्ध विराममा केन्द्रित भए पनि कुनै सहमति नजुटेको अधिकारीहरूले जनाएका छन् ।
वार्तापछि ट्रम्पले आफूहरु सम्झौतासम्म नपुगेको बताए । रुसी राष्ट्रपति पुटिनले पनि वार्ता सकारात्मक रहेको बताए पनि सम्झौतासम्म नपुगेको जानकारी दिए । उनले तत्काल स्थायी सहमतिको सम्भावना नरहेको बताए । शुरुमा दुई राष्ट्रपति बीच वार्ता भएको र त्यसपछि दुवै नेताले आफ्ना सहयोगी राखेर वार्ता गरेको जनाइएको छ ।
अमेरिकाबाट पूर्व विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टीभ विटकॉफ सहभागी थिए भने रुसबाट विदेशमन्त्री सर्गेई लाभरोव र विदेश नीति सल्लाहकार यूरी उशाकोव सहभागी थिए ।
वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वा युक्रेनका कुनै प्रतिनिधिको उपस्थिति थिएन । वार्ताअघि जेलेन्स्कीले रूसबाट युद्ध अन्त्य गर्ने कुनै संकेत नआएको भन्दै आफू सहभागी नहुने वार्ता निष्कर्षमा पुग्न नसक्ने बताएका थिए ।
तीन घण्टा लामो वार्तापछि ट्रम्पले सकारात्मक प्रगति भएको बताए भने पुटिनले रुसको सुरक्षा प्रमुख मुद्दा रहेको भन्दै आफ्नो अडान कायम रहेको संकेत गरे । कुनै सहमति नभए पनि यो वार्तामा आफैमा एउटा ऐतिहासिक घटना थियो । एक दशकपछि पहिलो पटक पुटिनले अमेरिकी भूमि टेकेका थिए ।
उनको स्वागतमा ट्रम्पले रातो कार्पेट ओछ्याएर न्यानोपन त देखाए नै साथसाथै भारी मात्रामा सैन्य शक्ति प्रदर्शन गर्ने मौका पनि उनले छाडेनन् । उसै पनि अलास्काको एल्मेन्डर्फ सैन्य अखडामा वार्ता भएको थियो । त्यसमाथि पुटिनको विमानलाई अमेरिकी फाइटर जेटहरूले एस्कोर्ट गरेका थिए ।
पुटिन विमानबाट ओर्लेर आफू नजिक आइपुग्दा ट्रम्पले ताली पिटेका थिए । उनीहरू मञ्चतर्फ लम्किँदै गर्दा टाउकोमाथिबाट एउटा बी–२ बमवर्षक विमान र अरु लडाकु जेट उडाइएको थियो । गत जुनमा सोही बमवर्षकबाट अमेरिकाले इरानका आणविक केन्द्रहरूमाथि आक्रमण गरेको थियो । दुवै राष्ट्रपति एकछिन रोकिएर सो विमानतर्फ हेरेका थिए ।
जमिनमा ट्रम्पले पुटिनको स्वागतमा कुनै कसर नछाडे पनि यो दृश्यले अमेरिकी सैन्य शक्तिको कठोर यथार्थ प्रदर्शन गर्थ्याे । युद्ध नरोकिए रुसले गम्भीर आर्थिक परिणाम बेहोर्नुपर्ने चेतावनी ट्रम्पले दिँदै आएका छन् । उनको यो शक्ति प्रदर्शनले आवश्यक पर्दा सैन्य शक्ति उपयोग गर्न पनि अमेरिका पछि नहट्ने सन्देश दिन्थ्यो ।