टप एण्ड टी–२० सिरिज : नेपाल आज बङ्गलादेश ‘ए’ सँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) बङ्गलादेश ‘ए’ सँग भिड्दै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।
नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरसंग ४२ रनले पराजित भएको थियो ।
जितका लागि नर्दनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान गरे ।
गुल्शन झाले २६ ,कप्तान रोहित पौडेलले २३ रन तथा दिपेन्द्र सिं ऐरीले १९ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको नर्दन टेरिटोरीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।