मल अभावबारे सत्तारुढ सांसदकै प्रश्न : तालुक मन्त्रालय के हेरेर बसेको छ ?


२०८२ श्रावण २९ बिहीबार १४:४४ बजे

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले खेतीको समयमै मल अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आज (बिहीबार) को बैठकमा बोल्ने अधिकांश सांसदले मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सरकार र मन्त्रालय के हेरेर बसिरहेको छ भनी प्रश्न गरेका छन् ।

सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरुले मलका विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सांसद भीम आचार्यले बजारमा मलको हाहाकार भएको बताउँदै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । 

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रका किसानले मल पाउन नसकेको भन्दै सरकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न गरे । ‘मलको चरम अभाव र कालोबजारी छ । किसानले उपयुक्त च्यानलबाट पाएका छैनन्,’ उनले भने, ‘किसानले अहिले युरिया हाल्ने बेलामा पाएका छैनन् । तालुक मन्त्रालयले के हेरेर बसेको छ ?’

उनले सरकारले समयमा मलको व्यवस्थापनका लागि नसोचेको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गराए । प्रमुख प्रतिपक्ष माओवादी सांसद रामकुमार राईले मल अभाव हुँदा सरकार के हेरेर बसिरहेको छ भनी प्रश्न गरे । सरकार भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप समेत उनले लगाए ।

सांसद राईले पोखराको लिचिबारी, विद्युत् प्राधिकरणको डेडिकेटड ट्रंकलाइन महसुलको विषय उठाउँदै कुलिङ अफ पिरियड विवादमा सभापतिले राजीनामा दिएपछि संलग्न अरुलाई खोइ कारबाही भन्दै प्रश्न गरे । सत्ता पक्ष कांग्रेसका सांसद रामकृष्ण यादवले पनि मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७