नेपाल र खनालबीच पौने दुई घण्टा भेटवार्ता, साम्य होला अब झगडा ?


२०८२ श्रावण २५ आइतबार १०:५३ बजे

काठमाडौं । सार्वजनिक रुपमै ‘छेडखानी’ मा उत्रिएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ । पछिल्लो समय आरोप–प्रत्यारोपमा उत्रँदै एकले अर्कालाई पार्टी छाड्न भन्दै आएका नेपाल–खनालबीच शनिबार बिहान पौने दुई घण्टा कुराकानी भएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

अध्यक्ष नेपाललको जनकपुर जाने पूर्व निर्धारित कार्यक्रम भएकाले संवाद छिट्टै टुंगिएको नेताहरूले बताएका छन् । ‘उहाँहरूबीच संवादको थालनी भएको छ । एक अर्काविरूद्ध नबोल्ने समझदारी पनि भएको छ,’ पाण्डेले सुनाए, ‘शनिबार धेरै लामो कुराकानी भएन । फेरि छिट्टै बस्ने र बाँकी विषयमा समझदारी कायम गर्ने भन्ने भएको छ ।’

शनिबार पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा साक्षीका रूपमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल रहेका थिए । अध्यक्ष नेपाल र नेता खनालबीच केही दिनयता सार्वजनिक रूपमै एकअर्कालाई पार्टी छोड्न सुझाव दिइरहेका बेला नेताहरू पाण्डे, भुसाल र हमालले नेताद्वयलाई संवादमा जुटाएका हुन् ।

‘पछिल्लो समय जे जति कुरा बाहिर आए, त्यसले वातावरण बिगार्ने देखेर दुई नेतालाई संवादमा राखेका हौं,’ पाण्डेले भने, ‘भेटका लागि म, प्रमेश हमाल, घनश्याम भूसालले सहजीकरण गरेका थियौं। हिजोको भेटमा उल्लेखनीय रूपमा बताउनु पर्ने केही छैन, अब अर्को पटक बस्ने बैठकले एउटा आकार दिनेछ ।’

सम्मानित नेता खनालले अझैसम्म एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको आफूलाई महसुस भएको बताएपछि अध्यक्ष नेपालले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नभएको भन्दै सार्वजनिक रूपमै पार्टीबाट राजीनामा दिन आग्रह गरेका थिए । 

त्यसपछि खनालले नेपाललाई जवाफ फर्काउँदै आफूले होइन, अध्यक्ष नेपालले पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए । शुक्रबारमात्र अध्यक्ष नेपालले खनाललाई विद्रोहको औचित्य पुष्टि नभए केपी ओलीको सेवा गरेर बस्न सुझाव दिएका थिए । 

पार्टी निकट उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सम्मानित नेता खनालले पार्टीको बदख्वाइँ गरेको, मिडियामा गएर विद्रोहको औचित्य छैन भनेको बताएका थिए । 
‘मिडियामा जाने, पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो विद्रोह नै ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्यो नि,’ नेपालको भनाइ थियो ।

यसैबीच शनिबार नै सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको थियो । खनाल निवास डल्लुमा झण्डै ६ घण्टा चलेको छलफलमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा कुराकानी भएको नेता गौतमले जानकारी दिए ।

‘हामी पुराना साथी हौं, लामो समयदेखि कुरा पनि भएको थिएन, पार्टीकोभन्दा ज्यादा व्यक्तिगत कुराकानी भयो,’ गौतमले भने, ‘त्यसरी बाहिर चर्चा गर्ने गरी कुनै कुरा भएको छैन । पार्टीलाई एकताबद्ध बनाउने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने कुरा भयो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७