आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र बुझ्न नसक्दा दुःख पाइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित ३१औं विश्व आदिवासी दिवसको आवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरु आन्दोलनको सडकमा गएकोप्रति असन्तुष्टि जनाउँदै उनले संघर्षको मुख्य क्षेत्र संवैधानिक कानुनी र वौद्धिक अभ्यास रहेको बताए ।
उनले भने, ‘नेपालका आदिवासी जनजातिको आन्दोलनको क्षेत्र सडक होइन । बेला बेलामा हामी सडकमा पनि गइराखेको हुन्छौँ । कुनै दिन सडकमा जानुपर्ने दिन आउन सक्ला, तर आज संघर्षको मुख्य क्षेत्र संवैधानिक छ । कानुनी क्षेत्र छ र वौद्धिक अभ्यासको क्षेत्र छ । हाम्रो आन्दोलनको क्षेत्र यो हो भन्ने कुरा नेपालको आदिवासी जनजातिले बुझ्नु पर्छ। त्यो नबुझ्दा हामीले दुःख पाइरहेको छौँ ।’
त्यस्तै, उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए । दालभात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोग बिना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ ।
उनले भने, ‘भाषा संरक्षणको लागि एआईको पनि प्रयोग गर्नुपर्छ । एआईले पनि त्यो भाषा भन्न सक्ने बनाउनु पर्छ।हामीले बुझ्नुपर्ने के छ भने एआई अब हाम्रो दालभात जस्तै हो । दालभात नखाई हाम्रो जीवन नबाँचेको जस्तो एआईको प्रयोग भएन भने हाम्रो जीवनको समृद्धि सम्भव छैन् । तर यसलाई नियन्त्रित ढंगले चाँहि प्रयोग गर्नुपर्छ । एआई मानवको हितमा र नियन्त्रणमा चाँहि हुनुपर्यो ।’