फिफा वरियतामा महिला टोलीको ‘छलाङ’

काठमाडौं । फिफा वरियतामा नेपाली महिला टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औं स्थानमा पुगेको छ ।
नेपाली महिला टोलीले हासिल गरेको यो हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन रेकर्डलाई पनि उछिनेर नयाँ सफलता हासिल भएको हो ।
यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो ।
एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ । नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो । फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ । पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।